Monday, June 1, 2020

निरन्तर विद्यार्थी मूल्याङ्कन

                            

निरन्तर विद्यार्थी मूल्याङ्कन

                                                                                                    सन्ताेष पाेख्रेल

निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणा

पाठ्यक्रमद्वारा अपेक्षित उद्देश्यहरू के कति प्राप्त भए वा भएनन्, प्राप्त भएको भए के कति कस्तो अवस्थामा प्राप्त भए र प्राप्त नभएको भए के कति प्राप्त भएनन् भनेर लेखाजोखा गर्ने कार्य मूल्याङ्कन हो । मूल्याङ्कनले उद्देश्य प्राप्तिको अवस्थाको लेखाजोखा गर्दछ । यसरी लेखाजोखा गर्ने विभिन्न तरिका वा प्रव्रिmयामध्ये निरन्तर मूल्याङ्कन पनि एक हो । हरेक शिक्षण सिकाइ क्रियाकलापसँगै र आवश्यकतानुसार समय–समयमा गरिने मूल्याङ्कन निरन्तर विद्यार्थी मूल्याङ्कन हो । निरन्तर विद्यार्थी मूल्याङ्कन सुधारात्मक (Formative)  उद्देश्यका लागि अपनाइन्छ । यो मूल्याङ्कन प्रक्रिया विद्यार्थीलाई कक्षा चढाउने कुराको निर्णय लिनुभन्दा पनि प्रभावकारी शिक्षण सिकाइका सन्दर्भमा बढी उपयोग गरिन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कनले अनौपचारिक मूल्याङ्कनमा जोड दिन्छ । यस मूल्याङ्कन प्रक्रियामा कुनै पनि समयमा मूल्याङ्कनका विभिन्न माध्यम (लिखित, मौखिक प्रश्नोत्तर, अवलोकन विगतमा गरेका काम आदि) बाट विद्यार्थीको मूल्याङ्कन गरिन्छ ।

 विद्यार्थीको उपलब्धिको अवस्था थाहा पाई सोअनुसार शिक्षण सिकाइ प्रक्रीया सञ्चालन गर्न आवश्यक सूचना तथा जानकारी प्राप्त गर्ने एउटा पद्धति हो विद्यार्थी मूल्याङ्कन । यसरी सूचना प्राप्त गरी कमजोर विद्यार्थीका समस्या पहिचान गरी सुधारात्मक शिक्षण गर्न तथा सक्षम विद्यार्थीलाई अझ अगाडि बढ्न प्रोत्साहन गर्ने कार्य निरन्तर विद्यार्थी मूल्याङ्कनले गर्दछ । तर कतिपयले यसलाई औपचारिक परीक्षा नलिई स्वतः कक्षा चढाउने पद्धति अर्थात् उदार कक्षोन्नति भनेर बुझ्ने गरेको पाइन्छ । उदार कक्षोन्नति भनेको विद्यार्थीको मूल्याङ्कन नगरी स्वतः पास गराउने पद्धति होइन । अघिल्लो कक्षामा नसिकेका कुराहरू यकिन गरी अर्को कक्षामा जाँदा अघिल्लो वर्ष प्राप्त गर्न नसकेका सिकाइ उपलब्धि पूरा गराउँदै उत्तीर्ण भएको कक्षाका सिकाइ उपलब्धि प्राप्त गर्ने गराउने पद्धति हो । उदार कक्षोन्नति पद्धतिमा एक वर्षमा विद्यार्थीले सिक्नु पर्ने न्यूनतम कुरा के कति सिक्यो भनेर निक्र्याेल गरी माथिल्लो कक्षामा चढाउने र तल्लो कक्षामा सिक्न नसकेका कुरा माथिल्लो कक्षामा गएर पनि सिकाउने गरी कक्षा चढाउदै लैजाने पद्धति हो । यस अर्थमा एक वर्षसम्म कुनै कक्षामा अध्ययन गरेका विद्यार्थीलाई माथिल्लो कक्षामा सहजै चढाउने नीति उदार कक्षोन्नति हो । यो निरन्तर मूल्याङ्कन पद्धतिमा आधारित हुन्छ । यसरी उदार कक्षोन्नति भनेको विद्यार्थी भर्ना गर्दै कक्षा चढाउने पद्धति नभई नजानेका वा सिकाइ स्तर कमजोर भएका बालबालिकालाई पनि थप अवसर दिएर सिकाउँदै कक्षा चढाउँदै लैजाने पद्धति हो । यो निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिको एउटा अभिन्न अङ्ग हो । विद्यार्थीको उपलब्धिलाई दृष्टिगत गर्दै प्रभावकारी सिकाइको अवसर प्रदान गर्दै जाने पद्धति हो ।

विद्यार्थी मूल्याङ्कन थप सिकाइका लागि सिकारुको स्थिति पहिचान गरी उपचारात्मक सेवा प्रदान गर्न र सिकारुले सिकेका कुराहरूको आधारमा स्तरीकरण गरी उसको बारेमा निर्णय गर्न एवम् प्रमाणपत्र प्रदान गर्नका लागि गरिन्छ । विद्यार्थीहरूलाई सिकाइ एकै बेला के कति सिके भनेर लेखाजोखा गरी आगामी दिनमा के कस्तो उपायहरू अवलम्बन गरी थप सिकाइका लागि सहजीकरण गर्ने भन्ने कुरामा निरन्तर मूल्याङ्कन प्रणाली केन्द्रित हुन्छ । नेपालमा निरन्तर मूल्याङ्कन प्रणाली २०६२ मा कक्षा १ देखि ३ सम्मको नयाँ पाठ्यव्रmम कार्यान्वयनमा आएपछि कानुनी रूपमै अङ्गीकार गरिएको पाइन्छ । अहिलेसम्ममा यसको विस्तार भई आधारभूत तहको कक्षा ७ सम्म पुगेको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई उदार कक्षोन्नतिसँग गाँसेर ल्याइनु, जटिल प्रकृतिका साधनहरूको प्रयोग गर्नुपर्ने हुनु, सरोकारवालाबाट अवरोध खडा हुनु, शिक्षण सिकाइ क्रियाकलापको सुधारको कुरै नगरी मूल्याङ्कन प्रणालीमा मात्र एकाङ्की ढङ्गले सुधार गर्न खोजिनु, पाठ्यक्रम कार्यान्वयनमा फित्तलोपना रहनु, अनुगमन तथा सुपरिवेक्षण प्रणाली कमजोर हुनु जस्ता कारणहरूले निरन्तर मूल्याङ्कन प्रणालीको कार्यान्वयनमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । निरन्तर मूल्याङ्कन प्रणालीको कार्यान्वयनका लागि एकाङ्की होइन, समष्टिगत दृष्टिकोणबाट निर्देशित भई अघि बढ्नुपर्छ । पाठ्यक्र, पाठ्य पुस्तक र शिक्षक निर्देशिकामा सुधार गरी निरन्तर मूल्याङ्कनलाइ मापदण्डमैत्री बनाइनुपर्छ । शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तनपछि मात्र मापदण्ड अनुसार निरन्तर मूल्याङ्कन गर्न सकिन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । शिक्षकहरू सकारात्मक सोच लिई यसको कार्यान्वयनबाट आफैँलाई सजिलो हुने विश्वासका साथ दृढ सङ्कल्पित भई लाग्नुपर्छ । निरन्तर मूल्याङ्कनको प्रत्येक मापदण्डअनुसार शिक्षण सिकाइ क्रियाकलाप गराउन सबै विषयको प्रत्येक पाठमा मापदण्डगत क्रियाकलाप र निर्देशन सहितको निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयन सहजीकरण पुस्तिका तयार गरी सबै शिक्षकहरूलाई वितरण गरिनुपर्छ । यसले शिक्षकलाई क्रियाकलाप गर्न र सो सँगसँगै मूल्याङ्कन गर्न मार्गनिर्देश गर्छ ।
 
पाठ्यक्रमका आधारमा शिक्षण, क्रियाकलापमुखी शिक्षण, कक्षाकार्य, सिर्जनात्मक कार्य, परियोजना कार्य, प्रयोगात्मक कार्यमा अधिक जोड दिएपछि मात्र निरन्तर मूल्याङ्कन विद्यमान सूचकका आधारमा गर्न सकिन्छ । जरैदेखि सुधारको लागि पाठ्यक्र, पाठ्य पुस्तक, शिक्षक निर्देशिका समेतमा स्पष्टताको लागि सुधार हुनुपर्छ । यसको सुधारका लागि बहुआयामिक प्रयासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आजको आवश्यकता हो । निरन्तर मूल्याङ्कन प्रणाली निदानात्मक र निर्माणात्मक मूल्याङ्कनको समिश्रण हो । यसको अभिप्राय नै विद्यार्थीको सिकाइ उपलब्धि सुनिश्चित गरी उनीहरूको सिक्न पाउने अधिकारको प्रत्याभूति गर्नु हो । नेपालमा पनि निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको कार्यान्यन गर्न थालिएको करिब एक दसक पुग्न लागिसकेको छ । तर दशक लामो प्रयास पछि पनि अवस्था पुरानै छ । कक्षा १ को पनि प्रश्नपत्र छपाई गरी लिखित परीक्षाकै आधारमा मूल्याङ्कन गर्ने परिपाटीको पुनरावृत्तिमा रोक लगाउन सकिएको अवस्था छैन । अर्कातिर निरन्तर मूल्याङ्कन प्रणालीले नसिकिकनै कक्षोन्नति गरी शिक्षाको गुणस्तर खस्काउनमा मुख्य भूमिका खेलेको र शैक्षिक डढेलो लगाएको आरोप पनि खेप्नुपरेको छ । सोचाइमा, बुझाइमा र गराइमा भएको दृष्टि भ्रमले गर्दा निरन्तर मूल्याङ्कन प्रणाली वास्तविक मर्म बमोजिम कार्यान्वयनमा आउन सकेको छैन । सिकाउनका लागि निरन्तर मूल्याङ्कन भन्ने सोचको विकास गर्नुको सट्टा नसिकाइ पास गराउन निरन्तर मूल्याङ्कन ल्याइएको भन्ने सोचले उल्टो दिशातिरको यात्रालाई मलजल गरेको देखिन्छ । पाठ योजना निर्माण, शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन र मूल्याङ्कनलाई एकै त्रिभुजको तिन भुजा जस्तै गरी अघि बढाउन नसकी मूल्याङ्कनमा मात्र सुधार गर्न खोज्ने हाम्रो प्रयासले विरुवाको पालुवामा युरिया मल हाले जस्तो अवस्था देखिएको छ

सामान्य अर्थमा विद्यार्थीको निर्माणात्मक मूल्याङ्कनलाई निरन्तर विद्यार्थी मूल्याङ्कन भन्ने गरिएको छ । शिक्षण सिकाइ प्रभावकारी बनाउन र पाठ्यक्रमले लक्ष्य गरेका सिकाइ उपलब्धिहरू विद्यार्थीमा पुरा गराउन गरिने मूल्याङ्कन निर्माणात्मक मूल्याङ्कन हो । निरन्तर सुधारको उद्देश्यले नियमित रूपमा गरिने निर्माणात्मक मूल्याङ्कनलाई नै निरन्तर मूल्याङ्कन भन्नु उपयुक्त हुन्छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यअनुसार निर्माणात्मक मूल्याङ्कन शिक्षण सिकाइ क्रियाकलापसँगै निरन्तर चलिरहन्छ । त्यसैले निर्माणात्मक मूल्याङ्कनलाई सरल भाषामा निरन्तर विद्यार्थी मूल्याङ्कन भनिएको हो । यसले केवल निर्माणात्मक मूल्याङ्कन मात्र नभई निदानात्मक मूल्याङ्कनको समेत विशेषता बोक्ने भएकोले वास्तवमा निदानात्मक र निर्माणात्मक मूल्याङ्कनको समिश्रणको रूपमा निरन्तर मूल्याङ्कन प्रणालीलाई बुझ्नु अझै बढी सान्दर्भिक र वास्तविक हुन्छ । मूल्याङ्कनको उद्देश्य प्रभावकारिता, सक्षमता, मितव्ययिता, प्रयत्नशीलता, पर्याप्तता, वस्तुनिष्ठता र जवाफदेहिता जस्ता पक्षको मापन गर्ने हुनुपर्छ । शिक्षा क्षेत्रमा मूल्याङ्कनका खास दुईपक्ष हुन्छन् ः कमी कमजोरी पत्ता लगाई कार्यक्रममा सुधार ल्याउनु र भइसकेको शैक्षिक क्रियाकलापको सकारात्मक नकारात्मक पक्ष र कमजोरीहरू पत्ता लगाई भविष्यमा गरिने कार्यक्रममा सुधार ल्याउनु (Simith, 1996) । यसरी स्मिथले भइरहेको कामको कमी कमजोरी पत्ता लगाई विचलन अवस्थाहरू पत्ता लगाई आवश्यक सुधार गर्ने प्रयोजन (Backward Mapping) र सम्पन्न भएको कामको अनुभवको आधारमा भविष्यको कार्यदिशा निश्चित गर्न (Forward looking) को रूपमा मूल्याङ्कन पद्धतिको उपयोग गर्न सकिने कुरा उल्लेख गरेका छन् । मूल्याङ्कन र शिक्षाको गुणात्मक पक्षको चर्चा गर्दै वाग्ले लेख्छन्, “शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा गुणस्तरीय मूल्याङ्कन प्रणालीमा भर पर्दछ (वाग्ले, २०६७) । कक्षा कोठाको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउन, विद्यार्थीको क्षमतालाई उजागर गर्न कक्षोन्नतिका बारेमा निर्णय लिन, शिक्षकले आफ्नो अध्यापन कार्यमा लगातार पृष्ठपोषण प्राप्त गर्न मूल्याङ्कन गरिन्छ”(उही) । उपर्युक्त दृष्टान्तहरूले निर्माणात्मक मूल्याङ्कन आवश्यक रहेको र यसको माध्यमबाट सिकाइमा सुधार ल्याउने प्रयास गरिने कुरामा जोड दिएको अनुमान लगाउन सकिन्छ । निर्माणात्मक मूल्याङ्कनलाई निरन्तर रूपमा बहुआयामिक तरिकाहरूको प्रयोग गरी उपयोगमा ल्याउनु नै निरन्तर मूल्याङ्कन प्रणाली हो भन्नुमा अत्युक्ति नहोला । निरन्तर मूल्याङ्कन विद्यार्थीको वास्तविक सिकाइको लेखाजोखा गर्ने र सिकाइसम्बन्धी कठिनाइहरूको पहिचान गरी उपचारात्मक शिक्षण गर्ने अभिप्रायले गरिन्छ । हिजोआज निर्माणात्मक उद्देश्यले गरिने विद्यार्थी मूल्याङ्कनले स्थान पाएको छ । कक्षाकार्य, गृहकार्य, एकाइ परीक्षा, त्रैमासिक परीक्षा, परियोजना कार्य, विद्यार्थी व्यवहार जस्ता पक्षहरूको अवलोकन गरी विद्यार्थीको सिकाइको वास्तविक अवस्था पहिचान गरिन्छ (प्राथमिक शिक्षा पाठ्यक्र, २०६२) । अनि सुधारका लागि उपयुक्त उपायहरूको अवलम्बन गरिन्छ । यस अर्थमा निरन्तर मूल्याङ्कन सिकाइका लागि मूल्याङ्कन हो भन्न सकिन्छ । यो आधिकारमा आधारित सिकाइका लागि गरिने वास्तविक मूल्याङ्कन पनि हो । निरन्तर मूल्याङ्कन सिकेकै बेलामा गरिने मूल्याङ्कन हो । यो बहुविधिबाट गरिने मूल्याङ्कन हो । विद्यार्थीको व्यवहारमा आएको परिवर्तन लेखाजोखा गर्ने वैध मूल्याङ्कन हो । उपचारात्मक शिक्षणका लागि सूचना प्रदान गर्ने निदानात्मक मूल्याङ्कन हो । स्मरण र विस्मरण एकै सिक्काका दुई पाटा हुन् भन्ने मान्यतालाई आत्मसात गर्ने मूल्याङ्कन प्रणाली हो । आवधिक परीक्षाले मात्र विद्यार्थीको यथार्थ मूल्याङ्कन गर्न नसक्ने हुनाले यसको परिपूरणका लागि ल्याइएको बहुआयामिक मूल्याङ्कन प्रव्रिmया हो ।

निरन्तर मूल्याङ्कन प्रणालीको महत्व

निरन्तर विद्यार्थी मूल्याङ्कनको मुख्य उद्देश्य भनेको प्रभावकारी शिक्षण सिकाइका माध्यमबाट विद्यार्थीहरूमा पाठ्यव्रmमले तोकेका सिकाइ उपलब्धि हासिल गराउन शिक्षक र विद्यार्थीका क्रियाकलापहरूलाई निर्देशित गर्नु हो । यसैलाई निरन्तर मूल्याङ्कन प्रणालीको मुख्य महत्त्वका रूपमा पनि लिन सकिन्छ । यसका अतिरिक्त तलका बुँदाहरूले पनि निरन्तर मूल्याङ्कन प्रणालीको महत्त्वलाई इङ्गित गर्दछः

·         विद्यार्थीको सहजतापूर्वक, शीघ्र र यथार्थ मूल्याङ्कन गर्न,

·         विद्यार्थीहरूमा पाठ्यक्रमले तोकेका ज्ञान, सिप, अभिवृत्ति र दक्षता विकास गराउन,

·         विद्यार्थी मूल्याङ्कनका नाममा खर्च हुने अतिरिक्त समय र स्रोत बचाउन,

·         विद्यालयमा बाल बालिकाहरूलाई रमाएर सिक्ने (Learning with fun) को वातावरण सिर्जना गर्न,

·         विद्यार्थीहरूमा परीक्षाको सन्त्रास हटाई विद्यार्थीको असफल हुने दर न्यूनीकरण गर्दै जान,

·         विद्यार्थीको सिकाइ समस्याहरूको पहिचान गरी उपचारात्मक शिक्षण गर्न,

·         विद्यार्थीले स्वयम् पहलमा वा दैनिक जीवनका क्रियाकलापहरूबाट सिकेका कुराहरूलाई वैधानिकता प्रदान गरी पाठ्यक्रमलाई दैनिक जीवनसँग जोड्न,

·         अनुत्तीर्ण हुने दर, कक्षा छाड्ने दर घटाई शैक्षिक क्षति कम गर्न,

·         सहपाठी सिकाइ र गरेर सिक्ने वातावरण सिर्जना गरी बालमैत्री शिक्षण सिकाइको प्रवर्धन गर्न आदि ।

नेपालको सन्दर्भमा निरन्तर विद्यार्थी मूल्याङ्कनको महत्त्व अझै ठुलो छ । नेपाल सरकारले आधारभूत तहमा गरेको लगानीको कहाली लाग्दो क्षति भएको छ । प्राथमिक तहमा कक्षा दोहो¥याउने, सिकाइ असहज भएको कारण र फेल भएको कारण बिचैमा पढाइ छोड्ने विद्यार्थी धेरै छन् । यसले गर्दा तोकिएको समयभन्दा ढिलो र थोरै विद्यार्थीले मात्र तह पुरा गर्ने गरेका छन् । विद्यार्थीको निरन्तर मूल्याङ्कन गरेर उपचारात्मक शिक्षण सिकाइ प्रव्रिmयाबाट मात्र यो क्षति नियन्त्रण गर्न सकिन्छ । यसै दृष्टिकोणबाट नेपाल सरकार शिक्षा मन्त्रालयले आधारभूत तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन लागु गरेको छ । निरन्तर विद्यार्थी मूल्याङ्कनका विधिहरू निरन्तर विद्यार्थी मूल्याङ्कन शिक्षण सिकाइ प्रव्रिmयासँगै चल्ने प्रव्रिmया हो । प्रभावकारी शिक्षण सिकाइमा शिक्षण सिकाइ प्रक्रिया र मूल्याङ्कन प्रक्रिया लाई अलग गर्न सकिदैन । शिक्षण सिकाइ प्रव्रिmया र मूल्याङ्कन प्रक्रिया साथै अगाडि बढाउन विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलाप उपयोगी हुन्छन् । प्रश्नोत्तर, छलफल, अभिनय, नाटकीकरण, सम्वाद, प्रदर्शन, अवलोकन भ्रमण, वास्तविक कामको अभ्यास आदि विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलाप हुन् । यस्ता क्रियाकलापबाट शिक्षण सिकाइ प्रभावकारी हुन्छ ।

क्रमश००००


No comments:

Post a Comment