Saturday, September 19, 2020

पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार सिकाइ सहजीकरण प्रक्रिया

 पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार सिकाइ सहजीकरण प्रक्रिया 

                                                                                              


                                             

                                                                                                                                                    -सन्ताेष पाेख्रेल

शिक्षा, विज्ञान तथा मन्त्रालयले गठन गरेको पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू र विज्ञहरू सहभागी २८ सदस्यीय समितिले केहीदिनको गृहकार्य पछी  शिक्षा मन्त्रालयलाई प्रतिवेदनको खाका बुझाएको थियो । सुझावमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी बन्दाबन्दी र उत्पन्न नयाँ परिस्थितिमा हाललाई बैकल्पिक विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरूसहितको समितिले सरकारलाई सुझाव दिएको थियो ।

विभिन्न विषयमा शिक्षकले सहजीकरण गर्नुपर्ने भनी तोकिएका पाठ्यवस्तुको सिकाइका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले वर्गीकरण गरेका विद्यार्थीका पाँच समूहमध्ये आफ्नो विद्यालयका विद्यार्थी कुन समूहमा पर्छन् भन्ने निर्धारण गर्नुपर्छ । यसपछि गृह शिक्षा वा घरमै बसेर अध्ययन गर्ने विद्यार्थीका लागि निश्चित समयभित्र अध्ययन गर्नुपर्ने पाठ्यवस्तु र ती पाठ्यवस्तुबाट गर्नुपर्ने अभ्यासात्मक कार्यपरियोजना कार्य र प्रयोगात्मक कार्य निर्धारण गरेर विद्यार्थीलाई सुरक्षित तरिकाले विद्यालय वा सहज ठाउँमा बोलाई वा अन्य उपयुक्त तरिका अवलम्वन गरी निर्देशनसहित सिकाइका लागि सहजीकरण गर्नुपर्छ । विद्यार्थी विद्यालय वा शिक्षकका समीपमा आउन नसक्ने अवस्था भएमा शिक्षकले विद्यार्थीको घरैमा पुगी वा सञ्चार प्रविधिको प्रयोग गरी उक्त कार्य गराउनुपर्छ र विद्यार्थीले पनि शिक्षकले तोकेको तरिकाअनुसार आफूले सम्पन्न गरेका कार्य बुझाई पृष्ठपोषण लिनुपर्छ । रेडियो पाठशालाटेलिभिजन शिक्षण र भर्चुअल कक्षामा सहभानी विद्यार्थीले शिक्षकले दिएको निर्देशनअनुसारका कार्य गरी शिक्षकलाई टेलिफोन वा इमेलमार्फत आफ्ना जिज्ञासा सुनाई पाठ्यवस्तुमा स्पष्ट हुनुपर्छ ।

हाल करिब तीन सय सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाइएकाले बन्दाबन्दी खुलेपनि तत्काल त्यहाँ पठनपाठन गर्न सकिने स्थिति नरहेकोले शैक्षिक क्यालेन्डर, सूचना तथा सञ्चार प्रविधिमा आधारित अनलाइन कक्षा, यसको व्यवहारिकता, परीक्षा र मूल्याङ्कन, पाठ्यक्रम र तालिमका विषयमा सुझाव दिएको थियो । विगतमा पनि मधेस आन्दोलन र विनासकारी भूकम्पका समयमा अनलाइन, रेडियो र टेलिभिजनको माध्यमबाट विद्यालय को सिकाइलाइ पूर्णता दिइएको थियो । यी सवै कुराहरुलाई मध्यनजर गर्दै सरकारले २०७७ भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ स्वीकृत गरी सोही अनुसार असोज १ गतेबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । कोरोना महामारी अन्त्य भएर विद्यालय खुली नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायतका वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको छ ।

कोभिड १९ को सङक्रमणको कारण विद्यालयमा प्रत्यक्ष साक्षत्कार कक्षा हुन नसकी सिकाइ प्रणाली अवरुद्ध रहेको साथै यसको प्रभाव लामो समयसम्म रहन सक्ने अवस्थामा सिकाइ प्रणालीलाई सुचारु राख्न, विद्यार्थीको शैक्षिक वर्षको क्षति हुन नदिन र वैकल्पिक उपायको अवलम्बन गर्न विद्यार्थीमा पाठ्यव्रmमले तोकेका न्यूनतम सिकाइ उपलब्धिहरू हासिल हुने गरी विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गर्नु आवश्यक देखिएको अवस्थामा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले हालै स्वीकृत गरेको कक्षा १ देखि १२ सम्मको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गरेको छ । प्रत्यक्ष कक्षा सञ्चालन हुन सक्ने अवस्था हुँदा तथा नहुँदा समेत शैक्षिक वर्ष २०७७ को बाँकी अवधिमा निर्धारित पाठ्यक्रमका पाठ्यवस्तुलाई समायोजन गरेर मात्र सिकाइ उपलब्धि सुनिश्चित गर्न सकिने अवस्था देखिएको छ । यस अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागु गरी नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत मौजुदा पाठ्यव्रmमका पाठ्यवस्तुलाई समायोजन गर्नुपर्ने आवश्यकता देखिएको ले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गरेको हो  । यस परिदृश्यमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७७ / /११ को निर्णय तथा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को दफा १० अनुसार पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ विकास गरिएको छ । पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार सिकाइ सहजीकरण प्रक्रिया सम्वन्धी केही नयाँ र थप ब्यवस्थाहरु पनि गरिएका छन् ।

सङ्क्रमण कालमा शिक्षकले पाठ्यपुस्तकका पाठ पढाएर सक्ने विषयमा आधारित नभई पाठ्यक्रममा आधारित सिकाइ उपलब्धिलाई आधार मानी सिकाइलाई प्राथमिकतामा राखेर पाठ्यव्रmमले तोकेका वैकल्पिक विधिको प्रयोगका लागि शिक्षक निर्देशिका, तालिम प्याकेजको अध्ययन, अनुभवी शिक्षक प्रशिक्षकसँग छलफल, स्थानीय विज्ञ व्यक्तिसँगको परामर्श र अध्ययन गरी महामारीका अवस्थामा विद्यार्थीको सिकाइलाई प्रभावकारी रूपमा निरन्तरता दिने विधिको चयन गरी प्रयोग गर्नुपर्छ । गृह शिक्षा वा घरमै बसेर गरिने सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षा गरी चारओटा तरिका वैकल्पिक शिक्षाका माध्यम हुन् । यी कार्यक्रमलाई समानान्तर रूपमा सञ्चालन गरेर सबैका लागि वैकल्पिक शिक्षा प्रदान गरी सिकाइको निरन्तरता गर्नु अपरिहार्य बनेको छ । विद्यार्थी विद्यालय जाने अवस्था नरहेको वर्तमान परिवेशमा शिक्षक विद्यार्थीसम्म पुग्नुपर्छ र घर नै शिक्षालय भन्ने मान्यतालाई आत्मसात गर्नुपर्छ । शिक्षकले विद्यार्थीको सिकाइलाई निरन्तरता दिन महामारी तथा आपत्कालमा प्रयोग गरिने द्रुत सिकाइ (Rapid/accelerated learning), सामूहिक सिकाइ(Collaborative learning) परिवेशजन्य सिकाइ(Situational learning), प्रविधिमा आधारित सिकाइ(Technologybased learning) जस्ता वैकल्पिक विधिको प्रयोग गर्नुपर्छ । विद्यार्थीको सिकाइको न्यूनतम उपलब्धि हासिल गर्नका लागि पाठ्यक्रमले निर्देश गरेअनुसारको बहुबौद्धिकतामा आधारित शिक्षण, खोज तथा परियोजनामा आधारित शिक्षण र एकीकृत शिक्षण कार्यकलापको प्रयोगमा जोड दिई विभिन्न विषयमा मिल्दा पाठ्यवस्तु भएमा सबै शिक्षकले सल्लाह गरी एकीकृत शिक्षण समेत गर्नुपर्छ । यस कार्यको संयोजन तथा पाठ्यवस्तुको छनोट कार्य सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित विद्यालयको प्रधानाध्यापक, सम्बन्धित विषय शिक्षक र स्थानीय तहभित्र उपलव्ध विज्ञको समितिबाट गर्नुपर्ने छ । सङ्मक्रण कालमा सिकाइलाई निरन्तरता दिने विधिको चयन गर्दा निम्नलिखित पक्षमा ध्यान पुर्याउनुपर्छ ।

(क) पुनरवलोकन मोड्युल (Review module)

समायोजन गरिएका सिकाइ उपलब्धि र पाठ्यवस्तुलाई सरल जटिल व्रmममा विभाजन गरेरसमग्र पाठ्यसामग्री अध्ययन गरी यसभन्दा अगाडि सिकेको विषयलाई पुनरवलोकन गरिदिने र सोही आधारमा विद्यार्थीहरूलाई स्वअध्ययन र स्वअभ्यास गराउन सकिने, विद्यार्थीहरूले अभिभावकको सहयोग वा माथिल्ला कक्षाका विद्यार्थीसँगको सहकार्यबाट सिक्न सकिने, साथी शिक्षकको उपयोगबाट सिक्न सकिने र विद्यार्थीले आफैँ गर्न सक्ने क्रियाकलापमा वर्गीकरण गर्ने गरी सोहीअनुसार सिकाइ सहजीकरण गर्नुपर्छ ।

(ख) आधारभूत मोड्युल (Basic module)

यस मोड्युलमा शिक्षकले आफ्नो प्रत्यक्ष सहयोग चाहिने, आंशिक सहयोग चाहिने पाठ्यवस्तु शिक्षणका लागि उपयुक्त विधि, सामग्री र माध्यम चयन गरीविद्यार्थीले पनि घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने विकल्पमध्ये उपयुक्त अध्ययन गर्न सहजीकरण गर्नुपर्छ ।

(ग) सुदृढ मोड्युल (Advance module)

यस मोड्युलमा शिक्षकले गर्ने कार्यकलाप, विद्यार्थीले गर्नुपर्ने कार्यकलाप र अभिभावकले गरिदिनुपर्ने सहयोगका विविध पक्ष समेटिएको योजना बनाई सिकाइलाई निरन्तरता दिइन्छ । प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तुलाई रेडियो, टेलिभिजन, भर्चुअल वा प्रत्यक्ष माध्यमबाट विद्यार्थीसम्म पुर्याउने योजना बनाउनुपर्छ भने गृह शिक्षाका लागि भिन्नै योजना बनाउनुपर्छ । सुदृढ मोड्युलमा शिक्षकले सामग्री खोज तथा अध्ययन योजना, शैक्षिक सामग्रीको तयारी योजना, सिकाइ योजना, सिकाइ उपलब्धि आँकलन योजना र पृष्ठपोषण योजना तयार पारी सिकाइलाई निरन्तरता दिनुपर्छ । यस्तै शिक्षकले फरक क्षमता भएका विद्यार्थीका लागि शिक्षकले न्यूनतम सिकाइ उपलब्धि हासिल हुने गरी शिक्षण तथा मूल्याङ्कनका उपयुक्त तरिका अपनाई विद्यार्थी मूल्याङ्कन गरेर कक्षोन्नति गर्ने कार्यान्वयनयोग्य योजना बनाई कार्यान्वयन गर्ने र त्यसको जानकारी सम्बन्धित स्थानीय तहलाई दिने व्यवस्था गर्नुपर्छ ।

शिक्षक तथा अभिभावकले पनि आफ्ना बालबालिकाहरूले पुस्तक तथा अन्य उपलब्ध पाठ्यसामग्री पढ्ने,रेडियो पाठशाला कार्यक्रम सुन्ने, टेलिभिजन शिक्षण हेर्ने, गृहकार्य गर्ने, परियोजना कार्य गर्ने, भर्चुअल कक्षा लिने जस्ता क्रियाकलापमा सक्रिय गराई बालबालिकालाई सिकाइका लागिउपयुक्त वातावरण निर्माण गर्न, आवश्यक साधन स्रोत जुटाइदिन, सिकाइको अनुमगमन गर्न, गलत क्रियाकलापमा लाग्नबाट रोक्न र मनोवैज्ञानिक विचलन आउन नदिन सहयोग गर्नुपर्छ । माथि शिक्षकले सहजीकरण गर्नुपर्ने पाठ्यवस्तु र विद्यार्थी स्वयंले सिक्नुपर्ने पाठ्यवस्तुको सहजीकरण निम्नानुसार गर्नुपर्ने छ

शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तु

 विभिन्न विषयमा शिक्षकले सहजीकरण गर्नुपर्ने भनी तोकिएका पाठ्यवस्तुको सिकाइका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले वर्गीकरण गरेका विद्यार्थीका पाँच समूहमध्ये आफ्नो विद्यालयका विद्यार्थी कुन समूहमा पर्छन् भन्ने निर्धारण गर्नुपर्छ । यसपछि गृह शिक्षा वा घरमै बसेर अध्ययन गर्ने विद्यार्थीका लागि निश्चित समयभित्र अध्ययन गर्नुपर्ने पाठ्यवस्तु र ती पाठ्यवस्तुबाट गर्नुपर्ने अभ्यासात्मक कार्य, परियोजना कार्य र प्रयोगात्मक कार्य निर्धारण गरेर विद्यार्थीलाई सुरक्षित तरिकाले विद्यालय वा सहज ठाउँमा बोलाई वा अन्य उपयुक्त तरिका अवलम्वन गरी निर्देशनसहित सिकाइका लागि सहजीकरण गर्नुपर्छ । विद्यार्थी विद्यालय वा शिक्षकका समीपमा आउन नसक्ने अवस्था भएमा शिक्षकले विद्यार्थीको घरैमा पुगी वा सञ्चार प्रविधिको प्रयोग गरी उक्त कार्य गराउनुपर्छ र विद्यार्थीले पनि शिक्षकले तोकेको तरिकाअनुसार आफूले सम्पन्न गरेका कार्य बुझाई पृष्ठपोषण लिनुपर्छ । रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षामा सहभानी विद्यार्थीले शिक्षकले दिएको निर्देशनअनुसारका कार्य गरी शिक्षकलाई टेलिफोन वा इमेलमार्फत आफ्ना जिज्ञासा सुनाई पाठ्यवस्तुमा स्पष्ट हुनुपर्छ ।

विद्यार्थी स्वयम्ले सिक्नुपर्ने पाठ्यवस्तु

पाठ्यवस्तु समायोजन ढाँचामा विद्यार्थी स्यम्ले सिक्नसक्ने पाठ्यवस्तु भनिएका क्षेत्रमा शिक्षकले कुन कुन विषय कसरी सिक्न भन्ने निर्देशन तयार पारेर विद्यार्थीलाई उपलब्ध गराउनुपर्छ । यस्ता विषयको सिकाइमा अभिभावक, परिवारका सदस्य, छरछिमेकी,माथिल्लो कक्षाका विद्यार्थी, सहपाठी र स्वयम्सेवकले सहयोग गर्न सक्ने भएकाले शिक्षकले आफ्ना विद्यार्थीलाई उनीहरूबाट सिक्न सल्लाह प्रदान गर्नुपर्छ । आफूलाई स्पष्ट नभएका कुरा शिक्षकलाई टेलिफोन गरेर, भेटेर वा जिज्ञासा लेखेर कसैमार्फ शिक्षकसम्म पुर्याएर पनि सोध्न सक्ने व्यवस्था मिलाउनुपर्छ । उल्लिखित प्रव्रिmयाबाट शिक्षण सिकाइ कार्यकलाप गर्न सहज नहुने विशेष आवश्यकता भएका विद्यार्थीका लागि शिक्षकले सम्बन्धित सङ्घसंस्था र सोसम्बन्धी विज्ञसँग समन्वय, सल्लाह र परामर्श गरी उपयुक्त विधि अपनाई सिकाइ, मूल्याङ्कन तथा प्रमाणीकरण र स्तरोन्तति कार्य गराउनुपर्ने छ ।

यसरी शिक्षण सिकाइ क्रियाकलाप सम्पन्न गरे पश्चात विद्यार्थी हरुको मूल्याङ्कन प्रक्रिया पनि जरुरी हुन्छ जसकालागि पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले केही निर्देशन पनि उल्लेख गरेको छ ।

विद्यार्थीको सिकाइको मूल्याङ्कन शिक्षण कार्यकलापको अभिन्न अङ्ग हो । मूल्याङ्कन प्रमाणका आधार (Evidence Based) मा गरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता रहेको छ । शिक्षकले विद्यार्थीको मूल्याङ्कन गर्दा के आधारमा गरियो र कुन मापदण्डमा अङ्कन र श्रेणीकरण र स्तरोन्नति गरियो भन्ने कुरामा शिक्षक सुनिश्चित हुनुपर्छ अनि अभिभावक, विद्यार्थी र सम्बद्ध सरोकारवालालाई पनि सोको जानकारी गराउनुपर्छ । मूल्याङ्कनलाई वस्तुनिष्ठ, प्रामाणिक र गुणस्तरीय बनाउने जिम्मेवारी स्वयम् शिक्षकको हो ।

सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन (Ongoing Assessment)

सङ्क्रमण कालमा पाठ्यक्रमले तोकेको मौजुदा व्यवस्थामा परिमार्जन गरी लिखित परीक्षाका साथै निरन्तर मूल्याङ्कनका अन्य तरिकाको प्रयोग गर्ने र शिक्षण सिकाइको अभिन्न अङ्गका रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कनलाई निरन्तरता दिई अभिलेखीकरण गर्ने गर्नुपर्छ । सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन प्रामाणिक (Evidence Based) हुनुपर्छ । विद्यार्थीको सिकाइ उपलब्धि पूरा भएनभएको परीक्षण गर्न शिक्षकले मूल्याङ्कनका तोकिएका प्रक्रिया र विशिष्टी करण तालिकाबाहेकका आफूलाई उपयुक्त लागेका निम्नलिखित क्षेत्रसम्बद्ध विधिको समेत प्रयोग गरी सिकाइ उपलब्धि सुनिश्चित गर्नुपर्छ । शिक्षकले टेलिफोन वा सञ्चारका उपयुक्त विधिबाट नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुपर्छ । टेलिफोन पनि सम्भव नभएका ठाउँमा भौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजना कार्य दिने, अध्ययनका लागि परामर्श गर्ने जस्ता कार्य गराई विद्यार्थीले सिकेका कुरा प्रमाणित गरी अभिलेखीकरण गर्नुपर्छ । परीक्षा र परीक्षाबाहेकका साधनबाट परीक्षण, अनलाइन माध्यम वा टेलिफोनबाट मौखिक प्रश्नोत्तर, अनलाइनमा प्रश्न सोधी उत्तर लेख्न लगाउने, अभिभावक वा विद्यार्थीको मोबाइलमा खुला पुस्तकमा आधारित प्रश्न पठाई उत्तर लेखेर शिक्षकसम्म पुर्याउने व्यवस्था गर्ने, वर्क सिट दिने, अभिभावकबाट मूल्याङ्कन गराउने, माथिल्ला कक्षाका विद्यार्थी वा स्थानीय विज्ञबाट मूल्याङ्कन गराउने, विद्यार्थी स्वयम् वा साथीबाट मूल्याङ्कन गराउने जस्ता मूल्याङ्कनका उपाय पनि सङ्क्रमण कालका लागि उपयोगी हुन्छन् ।

प्रयोगात्मक मूल्याङ्कन (Practical Assessment)

प्रयोगात्मक कार्यका लागि विद्यायलयहरूले विद्यार्थीले घरमै बसेर गर्न सक्ने कार्यहरू छनोट गरीआवश्यकताअनुसार कार्य गराई मूल्याङ्कन गर्नुपर्छ । प्रयोगशालामा नै गर्नुपर्ने प्रयोगात्मक कार्य भएमा विद्यार्थीको भौतिक दुरी कायमा हुने व्यवस्था गरी न्यूनतम सङ्ख्यामा विद्यार्थीलाई बोलाई शिक्षकले प्रयोगात्मक कार्य गराउनुपर्छ । प्रयोगात्मक मूल्याङ्कनलाई प्रयोगात्मक कार्य, घरबाटै गर्न सकिने परियोजना कार्य, अध्ययन प्रतिवेदन तयारी, इन्टरनेट र सामाजिक सञ्जालबाट खोजी गर्ने कार्य वा अभिभावकको सहयोगमा सम्पादन हुने कार्यका रूपमा वर्गीकरण गरी सम्पन्न गराउनुपर्छ । प्रयोगात्मक मूल्याङ्कन प्रामाणिक (Evidence Based) हुनुपर्छ । विद्यार्थीको मूल्याङ्कनका लागि स्थानीय तहले शिक्षा हेर्ने अधिकारीको समन्वयमा सम्बन्धित विद्यालयको प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञ सम्मिलित समिति गठन गर्ने छ । उक्तसमितिले विद्यार्थीले गृह शिक्षा वा घरमै गरेको सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षामार्फत सिकेको सिकाइलाई आधारभूत तहको कक्षा १–३ मा दैनिक दुई घण्टा बराबरको सिकाइ र कक्षा ४–१० मा दैनिक चार घण्टा बराबरको सिकाइ मानी मूल्याङ्कन गर्न सक्ने छ । विद्यार्थीले बिदाका दिन र अतिरिक्त समयमा सिकेको सिकाइलाई पनि ल्याकत जाँच गरी प्रमाणीकरण तथा अभिलेखीकरण गर्न सकिने छ । शिक्षकले विद्यार्थीको मूल्याङ्कनका लागि प्रयोग गरेका लिखित कार्यलगायत सम्पूर्ण विवरण सुरक्षित राख्नुपर्ने छ ।

प्रमाणीकरण मूल्याङ्कन (Assessment for Cetification)

विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्दा शिक्षकले सहजीकरण गरेका पाठ्यवस्तुबाट निश्चित प्रतिशत र शिक्षकको निर्देशन र अभिभावकको सहयोगमा सिकेका पाठ्यवस्तुबाट निश्चित प्रतिशत भार दिई मूल्याङ्कन गर्नुपर्ने छ । शिक्षकले आन्तरिक र आवधिक मूल्याङ्कन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ता आदि जुनसुकै प्रक्रिया अपनाएको भए पनि ती विद्यार्थीको सहभागिताका गरिएको हुनुपर्ने छ । विद्यार्थीको मूल्याङ्कन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्ने छ र अनुगमनका बखत प्राप्त नभएका मूल्याङ्कन प्रक्रिया वास्तविक मानिने छैन । शैक्षिक वर्ष २०७७ का लागि विद्यार्थीको सिकाइ उपलब्धि लाई सिकाइमा सहभागिता, मौखिक कार्य, लिखित कार्य, परियोजना तथा प्रयोगात्मक कार्य, स्वमूल्याङ्कन, अभिभावकको प्रतिक्रीया ,  कुराकानी र छलफल का आधारमा मूल्याङ्कन गरी प्रमाणीकरण गर्नुपर्छ ।

( यो लेख नेपाल सरकारले जारीगरेको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ मा पूर्ण रुपमा आधारीत रहेको छ । )

No comments:

Post a Comment