Saturday, June 19, 2021

सामाजिक अध्ययन विषयका लागि तयार पारिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन को नमुना

 



                                                                                                                        -सन्तोष पोख्रेल 

बिद्यार्थीलाई सामाजिक अध्ययन विषयमा नियमित परियोजना कार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन

 

अनुसन्धानको पृष्ठभूमि :  

विद्यार्थीहरुमा शिक्षकले दिएको परियोजनाकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु तथा अभिभावकहरुले जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति सक्रिय बनाउन सकिएको छ भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रो विद्यालयका कक्षा १०का विद्यार्थीले परियोजना कार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरें 
तर धेरै शिक्षकका कक्षाहरुमा परियोजना कार्य  कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय बनाएर अधिकांश विद्यार्थीहरु परियोजना कार्य किन गर्दैनन् यस कुराको बारेमा कार्यमूलक अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।

समस्याको पहिचान :

मैले पढाउने विद्यालयको कक्षा १० को नेपाली माध्यमको सेक्सनमा जम्मा ४२ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म चौथोे घण्टीमा सामाजिक अध्ययन विषय पढाउछु । मैले राम्ररी याद गरिरहेको छु कि गत वर्ष पनि त्यही विद्यार्थीहरु कक्षा ९ मा हुँदा उनीहरु सबैले परियोजना कार्य  नगर्ने समस्या भोगीरहेको बारेमा म पूर्ण जानकार थिएँ । उनीहरुले परियोजना कार्य  किन नियमित रुपमा गर्दैनन् र उनीहरुलाई कसरी नियमित गृहकार्य गर्ने बनाउन सकिन्छ भनि मैल कार्यमूलक अनुसन्धानको प्रक्रिया सुरु गरेको हो ।

पहिलो चरण

योजना :

कक्षामा कतिजनासम्म विद्यार्थीले गृहकार्य बुझउँछन् त्यसको जानकारी लिने ।

क्रियाकलापः

पहिलो दिन विद्यार्थीलाई नियमित कक्षा सकिएपछि २ वटा प्रश्नहरु सेतोपाटीमा लेखेर भोली त्यसको परियोजना कार्य अनिवार्य गरेर ल्याउन विद्यार्थीलाई निर्देशन गरेँ । सबै विद्यार्थीहरुले प्रश्न कापीमा सारे र उक्त दिनको कक्षा सकियो ।

अवलोकन :

भोलीपल्ट कक्षामा पुगेपछि सबैको गृहकार्य अगाडी राख्न आग्रह गरे । सबैले कपी अगाडी राखे तर ४२ जना विद्यार्थी मध्ये उपस्थित ३५ जनामा १० जनाले पूरै २ वटै प्रश्नको कार्य गरेका ४ जनाले एउटा मात्र प्रश्नको परियोजना कार्य गरेको र बाँकीले अघिल्लो दिन जति प्रश्न सारे त्यसभन्दा एक अक्षर पनि लेखेको पाइएन ।

 

प्रतिबिम्बिन:

पढाइमा जाँगर लगाउने राम्रो पढाइ भएका विद्यार्थीहरुले गृहकार्य गरेपनि पढाइमा पछाडी भएका अन्य विद्यार्थीले गृहकार्यलाई कुनै महत्व नदिएको पाइयो ।

 

दोश्रो चरण

योजना :

विषयगत मूल्याँकन प्रक्रियाको बारेमा विद्यार्थीलाई प्रष्ट गराई परियोजना कार्यका आधारमा उनीहरुको उपलब्धी मुल्याँकन हुने बारेमा जानकारी गराएर परियोजना कार्र्यप्रतिको विद्यार्थीको आकर्षण बढ्छ वा बढ्दैन पत्ता लगाउने ।

क्रियाकलापः

भोलीपल्ट कक्षामा प्रवेश गरेपछि निम्न माध्यमिक कम्प्युटर विषयको मूल्याँकन पद्दतीका बारेमा जानकारी गराएँ । ७५ प्रतिशत सैदान्तिक र२५ प्रतिशत प्रयोागात्मक परीक्षा हुने त्यस मध्ये पनि हरेक विद्यार्थीले बुझाएको परियोजना कार्यको रेकर्डका आधारमा प्रयोगात्मक मुल्याँकनको लागि रेजा प्राप्त गर्ने र सोही रेजाको माध्यमवाट मूल्याँकनको प्रतिशतांक निकालिने कुरा जानकारी गराई अघिल्लो दिनको परियोजना कार्य का आधारमा सबै विद्यार्थीले पाएका रेजाका बारेमा जानकारी गराए । यस पछि नियमित कक्षा क्रियाकलाप गराई उक्त पाठको अभ्यास भोलिपल्ट पूरा गरेर ल्याउन निर्देशन दिएँ ।

अवलोकन :

भोलीपल्ट कक्षामा प्रवेश गरिसकेपछि अघिल्लो दिन झैं परियोजना कार्य देखाउन कपी अगाडी राख्न आग्रह गरेँ । सबै विद्यार्थीहरुले दिइएको परियोजना कार्य पूरा गरेको पाइयो । त्यसपछि मैले विद्यार्थीलाई प्रश्न गरेँ l  हिजो जम्मा १० जनाले मात्र गरेको गृहकार्य आज कसरी सबैलाई गर्ने उत्साह बढ्यो ? उनीहरुले उत्तर दिए l  तपाईले कक्षा कार्य र परियोजना कार्यका आधारमा हरेक परियोजना कार्य का लागि रेजा प्राप्त गर्ने र त्यही रेजाहरुका आधारमा वार्षिक रुपमा मुल्याँकनको आधार हुने कुराले परियोजना कार्र्य नगर्दा परीक्षामा घाटा हुने ठानेर जसरी पनि पूरा गर्यौं ।

प्रतिबिम्बन :

परियोजना कार्य नगर्नुमा विद्यार्थीमा कुनै उत्प्रेरणा दिन नसक्नु हो । सकारात्मक पुनर्बलले विद्यार्थीमा उत्प्रेरणा बढाउँछ र उनीहरुको सक्रियता बढाउँछ ।

 

निश्कर्ष :

सबै विद्यार्थीले नियमित रुपमा परियोजना कार्य गर्दैनन् । उनीहरुलाई कसरी नियमित गृकार्य गर्ने अवस्थामा लैजान सकिन्छ भन्ने विषयमा कार्यमूलक अनुसन्धानलाई अगाडी बढाउँदा दोश्रो चरणमा आइपुग्दा अवस्थामा सुधार भएकोले मैले अनुसन्धानको चरणलाई अन्त्य गरेँ । यो अनुसन्धानले विद्यार्थीमा काम गर भन्ने निर्देशन दिने तर गरेमा त्यसको प्रत्यक्ष उपलब्धी के हुने भन्ने बारेमा निश्चित नहुँदा उनीहरु क्रियाकलापप्रति आकर्षित हुँदैनन् भन्ने कुरालाई पुष्टि गरेको छ । मानिस तत्कालको प्रतिफलका लागि पहिला अग्रसर हुन्छ । त्यसैले जतिसक्दो छिटै कामको उपलब्धी देखिने गरी क्रियाकलाप गर्न प्रेत्साहित गर्न सके बालबालिका क्रियाकलापमुखी बन्नसक्छन् भन्ने महसुस भयो ।

 

सन्तोष पोख्रेल

मा.शि.तृतीय

आदर्श मा.वि. विराटनगर

No comments:

Post a Comment