Wednesday, September 17, 2025

क्रान्तिका नाममा इतिहास मर्नु हुँदैन।

                                   

                         
                            _  सन्तोष पोख्रेल 

विक्रम सम्वत १९७० को दशकका मोरङका चर्चित बडा हाकिम कर्नेल जितबहादुर खत्री सुवेदीको सामिप्यताले खरदार बन्न पुगेका पिताजी कृष्णप्रसाद कोइराला विराटनगरका लागि एउटा ऐतिहासिक नाम हो। मोरङको सदरमुकाम विराटनगर सार्ने क्रममा वडाहाकिम जितबहादुरले कृष्णप्रसाद कोइरालाको समूहलाई धेरै मद्दत गरेका थिए। खरदार बाजेका नामले चिनिने पिताजी कोइरालाले विराटनगरकाे विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको कुरालाई कसैले पनि नकार्न सकिँदैन। अहिलेका GEN _Z उमेर समूहका जस्तै तत्कालीन राणाहरूसँग संघर्ष गरेर नेपालको राजनैतिक र शैक्षिक क्षेत्रमा हत्वपूर्ण योगदान पुर्‍याउने पिताजी कोइरालाको अन्त्य पनि कारागार भित्र नै भएको थियो। संघर्षै संघर्षमा आफ्नो जीवन समाप्त गरेका पिताजी कृष्णप्रसाद कोइरालाले आफ्नो दुःखको बेला निर्माण गरेको ऐतिहासिक घर अहिले जेन्जी आन्दोलनलाई एउटा अवसर बनाएर जसले ध्वस्त बनाए उनीहरुले यो कुरा राम्ररी हेक्का राख्न जरुरी छ।

 राणाहरूको बर्बर सामन्ती संस्कारभित्र पनि सर्वसाधारण जनताका छोराछोरीहरूले पढ्न पाउनुपर्छ। नागरिकले अधिकार प्राप्त गर्नुपर्छ भनेर आवाज उठाउने , राणाहरूलाई एउटा गरिब किसानको कपडा पोको पारेर पार्सल पठाउने एकजना क्रान्तिकारी योद्धा कृष्णप्रसाद कोइराला जसको इतिहासलाई आज जसले भौतिक रुपमा नष्ट गर्ने सपना देखेको छ त्यो कुरा कदापि सम्भव छैन। इतिहास मारेर वर्तमान कहिल्यै सुधार गर्न सकिँदैन। इतिहासलाई साथमा लिएर मात्र वर्तमानलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। 

नन्दिकेशर कोइरालाका चार भाइ छोरा कालिदास नारायणप्रसाद हिरालाल र कृष्णप्रसाद सिन्धुलीको दुम्जा भन्ने ठाउँकाका रैथाने थिए। त्यस्तो अनकण्टार ठाउँमा जन्मिएका भएपनि कृष्णप्रसाद कोइरालाले शिक्षा र राजनैतिक चेतना वृद्धि गर्न निकै संघर्ष गर्नुपरेको इतिहास छ।

पत्रकार प्रकृति अधिकारीद्वारा लेखिएको खोजमूलक एउटा लेख अनुसार पिताजीले निर्वासित हुनु पहिले नै विसं १९७१ मा सिराहाको माडरमा विद्यालय खोल्नुभएको थियो। तत्कालीन समयमा उहाले  चन्द्रगञ्ज बजार अहिले जसलाई माडर भनिन्छ मा भन्सार प्रमुख भएर काम गर्दा त्यस क्षेत्रमा विद्यालय नभएको हुनाले तत्कालीन बडा हाकिम माणिकलालसँग सल्लाह गरी स्थानीय बुद्धिजीवीहरूको भेला बोलाई छलफल गर्दा स्थानीयहरु खुसी भएर जग्गा समेत उपलब्ध गराएका थिए। विद्यालय स्वीकृतिको लागि सरल हुने हेतुले चन्द्रशमशेरको नामको पहिलो शब्द  चन्द्र ,विद्यालय स्थापनाका लागि मुख्य भूमिका निर्वाह गर्ने बडा हाकिमको नामको पहिलो शब्द माणिक र विद्यालय स्थापना गर्न सबै प्रमुख भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद कोइरालाको कृष्ण मिलाएर तीनैजनाको संयुक्त नामबाट चन्द्रमाणीककृष्ण पाठशाला स्वीकृतिको लागि पठाइएको थियो। तर कृष्ण हटाएर चन्द्रमाणिक मात्र नामाकरण भएर विद्यालय स्वीकृत भयो। 

कृष्णप्रसाद कोइराला जनताप्रति कति सचेत हुनुहुन्थ्यो भन्ने कुरा बीपी कोइरालाको आत्मवृतान्तको पेज नम्बर ५ मा उल्लेख गरिए अनुसार उहाँले एउटा लुगाको पार्सल बनाएर चन्द्रशमशेरलाई पठाउनुभएको थियो। उक्त पार्सल पठाउँदा पिताजीले लेखेको चिठीमा सरकारले आफूले लगाएको पोशाक र आफ्नो प्रजाको पोशाकको फरक हेर्नका लागि यो पार्सल पठाउँदै छु। यो खोल्दा गनाउला त्यसो हुनाले सरकारले टाढै बसेर खोल्न लगाई हेरीबक्सेला भनेर लेखिएको थियो। 

त्यही चिठीका कारण पिताजी देशबाट निर्वासित हुनुपर्यो। चन्द्र शमशेरको पालामा निर्वासित भएर भारतको बिहारको टेडी भन्ने ठाउँमा आफ्ना सबै परिवारका सदस्यलाई लिएर बस्नुभएका कृष्णप्रसाद कोइरालाले त्यस ठाउँका र आफ्ना बालबालिकाहरूलाई अध्ययन गर्नका लागि विक्रम सम्वत १९८१ सालमा विद्यालय खोल्नुभयो। चन्द्र शमशेरको मृत्यु पश्चात श्री ३ भएका भीम शमशेरले आम माफी दिएपछि पिताजी पुन विराटनगर फर्कनुभयो। विराटनगर फर्कँदा उहाँ बिहारको टेडीबाट त्यहाँको विद्यालयका सबै शिक्षकहरू सहित आउनुभयो । विक्रम सम्वत १९८६ मा सपरिवार नेपाल प्रवेश गरेपछि विराटनगर स्थित कोइराला निवासको पुरानो घरमा तलको एउटा कोठामा विद्यार्थी भेला गरी अध्यापन गर्न थालियो। कृष्णप्रसाद कोइरालाले शिक्षकका रूपमा भारतीय नागरिक रघुनन्दनलाल दासलाई व्यवस्था गरिदिनु भएको थियो। रघुनन्दन त्यस विद्यालयमा सुरुका ११ वर्षसम्म प्रधानाध्यापक बने कृष्णप्रसादले भारतको कलकत्ताबाट ल्याएका शिक्षकलाई आफ्नै घरमा राख्ने व्यवस्था गर्नुभएको थियो भने पारिश्रमिक र खानपिनको व्यवस्था पनि आफैले उपलब्ध गराएका थिए। विद्यार्थी संख्या बढ्दै गएपछि कृष्णप्रसादले मातृकाप्रसादको घर रहेको स्थानमा एउटा टहरो बनाइदिए। उनले स्थानीय सुरेन्द्रबहादुर श्रेष्ठ र रामलाल गोल्छासँग विद्यालय स्थापना गर्न जग्गा माग गरेअनुसार कोइराला निवासको उत्तरतर्फ सुरेन्द्रबहादुरले १६ कट्ठा र रामलालले एक बिघा जग्गा विद्यालयलाई प्रदान गरे १९९२ साल ताका सोही जग्गामा सामान्य भवन निर्माण गरी विद्यालयलाई कोइराला निवास परिसरबाट सोही जग्गामा सारिएको  थियो । पिताजी कृष्णप्रसाद कोइरालाले स्थापना गरिदिनुभएको विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीहरु नेपालका प्रधानमन्त्री , मन्त्री, विभिन्न प्राविधिक क्षेत्रका विशिष्ट पदका व्यक्तित्वहरु ,न्यायालयका विशिष्ट व्यक्तित्वहरु लगायत विभिन्न ठाउँमा पुग्नुभएको छ।

विराटनगरको मात्र नभई नेपालकै दोस्रो जनताका छोराले स्थापना गरेको स्कुलका रूपमा परिचित आदर्श माध्यमिक विद्यालय पूर्वी क्षेत्रकै शिक्षा सुधारको एउटा उद्गम स्थल बनेको थियो। विराटनगरको चर्चित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस जुन अहिले महेन्द्र मोरङका नामले परिचित छ उक्त क्याम्पस समेत आदर्श माध्यमिक विद्यालयकै प्राङ्गणमा स्थापना भएको थियो। त्यसैगरी हाल पूर्वाञ्चल विश्वविद्यालयको नाममा सञ्चालित तात्कालीन जनता बहुमुखी क्याम्पस जुन विराटनगरको एक नम्बर वडामा अवस्थित छ। उक्त क्याम्पस समेत आदर्श माध्यमिक विद्यालयमा रात्रीकालीन क्याम्पसको रुपमा स्थापना भएको इतिहास छ। यी सबैको धरोहरका रुपमा रहेका पिताजी कृष्णप्रसाद कोइराला अहिलेको  आन्दोलनका नायक र अहिलेको सामाजिक अभियन्ताहरु भन्दा कम हुनुहुन्न थियो। देश र जनताको लागि आफ्नो ज्यान समेत जेलभित्र नै समाप्त गर्न सफल हुनुभएका यस्ता महानायक कृष्णप्रसाद कोइराला जसले आफूले संघर्ष गरेर निर्माण गरेको घर आज केही गलत मान्छेको गिद्दे नजरमा परी खण्डहरमा परिणत गर्दै गर्दा धेरै भन्दा धेरै आत्माहरु  पक्कै रुएको हुनुपर्छ। 

कोइराला निवास कुनै एउटा राजनैतिक व्यक्ति वा काङ्ग्रेस पार्टीको पार्टी कार्यालय थिएन। यो त एउटा राजनीतिक अनुशासन र राजनैतिक संस्कारका लागि एउटा मन्दिर थियो। भौतिक भवनहरू भत्किए पनि पिताजीले देखाएको बाटो पक्कै पनि मर्ने छैन । इतिहास मारेर वर्तमान बनाउने सोच ले कहिल्यै पनि देश निर्माण हुन सक्दैन। भावी पुस्तालाई हामीले संस्कार दिन सक्नुपर्छ। सहीलाई सही र गलतलाई गलत संस्कारको विकास हुन जरुरी छ। जबसम्म मेरो र तेरो भन्ने सोच रहन्छ तबसम्म हामी काहीँ पुग्न सक्दैनौ।

अझै पनि जे भएको छ त्यो गलत भएको छ म सम्पूर्ण जिएनजी युवा भाइबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु पिताजी कृष्णप्रसाद कोइरालाको त्यो निवास अब हामी सबै मिलेर फेरि उठाउनुपर्छ र एउटा राजनैतिक मन्दिरको अन्त्य हुन दिनु हुँदैन। पिताजी कृष्णप्रसाद कोइराला। न कुनै राजनैतिक दलको हुनुहुन्थ्यो न कुनै सिद्धान्तको उहाँ त खाली देश र नागरिकको चिन्ताका लागि सधैं संघर्षशील हुनुहुन्थ्यो त्यसैले कोइराला निवासलाई कुनै दलको पार्टी कार्यालयको रुपमा नहेर्नका लागि पनि म सम्पूर्ण नेपाली नागरिकहरूमा अनुरोध गर्न चाहन्छु । 


No comments:

Post a Comment