Friday, September 12, 2025

GENZआन्दोलन कारण र अबकोआवश्यकता

          
- सन्तोष पोख्रेल


यसपटकको जेन्जीहरूको आन्दोलन धेरैको बुझाइमा नेताहरूका विरुद्ध र उनीहरूको कार्यशैलीका विरुद्ध मात्र हो भन्ने ठम्याई हुनुपर्छ। केही अर्थमा यो हुन सक्छ। तर सबैभन्दा ठूलो कुरो हाम्रो देशको राज्य सञ्चालन प्रणाली नै हो। कुनै पनि काम को सफलता र असफलता नेतृत्वको नाममा आएता पनि त्यो

नेतृत्वलाई सफल बनाउने वा असफल बनाउने भन्ने कुरा उसभित्रका विभिन्न अङ्गहरुले गर्छन्। हाम्रो देशमा सेवा प्रदायकका रूपमा रहेका विभिन्न निकायहरू र ती निकायमा काम गर्ने केही व्यक्तिको कार्यशैलीका कारण पनि आजका युवा हरू यो अवस्थामा पुगेका हुन् भन्न कुनै कन्जुस्याई गर्नु पर्दैन। जसको जिम्मा हामी सरकारी तलब खाएर बस्ने सम्पूर्ण व्यक्तिहरूले लिनुपर्छ र हामी अब हाम्रो कार्यशैलीमा सुधार ल्याउन प्रतिबद्ध हुनुपर्छ। सेवाग्राहीहरूलाई एउटा झ्यालमा गएर १० रुपियाँको हुलाक टिकट टाँस्ने, अर्कोमा गएर तोक लगाउने, अर्कोमा गएर दर्ता गर्ने, अर्कोमा गएर रुजु गर्ने, अर्कोमा गएर भिडाउने, अर्कोमा गएर भौचर भर्ने, अर्कोमा गएर दाखिला गर्ने, अर्कोमा गएर हस्ताक्षर गर्ने, अर्कोमा गएर......... यसरी प्रकृयाको माखे साँग्लो पुरा गर्दा गर्दै एक घण्टामा हुने काम तीन दिनसम्म हुँदैन जसका कारण सेवाग्राहीहरूले अत्यन्त पीडा महसुस गर्छन्। एउटै ठाउँमा सम्पन्न हुने काम कागजी घोडाका कारण अत्यन्त कष्टकर बनेको हुन्छ। हाम्रा कानुनहरु कागजी घोडामा आधारित छन्। स्थलगत अनुगमन र स्थलगत अडिटमा नै कार्य सम्पन्न हुने गरी को कानुन बन्नु अबको आवश्यकता हो। आजको दुनिया short cut मा आधारित छ। युवाहरू त्यसैमा रमाएका छन्। अब पनि हामीले घुमाउरो पद्धतिलाई यथावत राख्यौँ भने अबको युवा पुस्ताले स्वीकार्न सक्दैन। डिजिटलको युगमा रमाएको युवा पुस्ता shortcut key बाट कम्प्युटरका कामहरू गर्न बानी परेको छ। त्यसैले ऊ त्यस्तै छिटो प्रकृतिको कामको आशा गर्छ। अब पनि हामीले पुरानै ढाँचा र ढर्राका कामहरु गर्यौ भने त्यसले अझै पनि निकास दिन सक्दैन। स्थलगत रूपमा काम होस् नहोस् कागजी रूपमा प्रक्रिया पुगेको छ भने त्यो मान्य हुने परीक्षण पद्धतिको अन्त्य हुन जरुरी छ। निजी क्षेत्रले कुनै काम गर्नुपर्यो भने एक घण्टाभित्र डिसिजन गरेर एक दिनभित्र उक्त काम सम्पन्न गर्न सक्छ। तर हाम्रो प्रणालीले विभिन्न लुपहोलहरू तयार गर्नका लागि नयाँ नयाँ कागजी घोडाहरु तयार गरेर त्यसका आधारमा महिनौसम्म कार्य सम्पन्न गर्न नसकिने गरीका कानुनी दस्तावेजहरू तयार गरी काम गर्न चाहनेहरूलाई पनि अवरोध गरिएको छ। एउटा बिरामीका लागि औषधि किन्नुपर्ने परिस्थिति सिर्जना भयो भने बिरामी मरेपछि मात्रै कागज पुरा हुन्छ। एउटा कुनै नयाँ काम गर्नुपर्यो भने कागजी काम पूरा गर्दागर्दै निजी क्षेत्रले उक्त काम आफूभन्दा १५ दिन अगाडि नै गरिसक्छ। जसको कारण सरकारी काममा सर्वसाधारणको विश्वास रहँदैन। यो कुरा अबको कार्यशैलीमा परिवर्तन हुन जरुरी छ। अबको कानुन अधिकार र दण्ड दुवै अधिकतम हुनेगरी बन्नुपर्छ अधिकतम अधिकार प्रयोग गर्न सक्ने उक्त अधिकारको दुरुपयोग भयो भने अधिकतम दण्ड हुन सक्ने कानुनी व्यवस्था सहितको कार्यशैली आजको आवश्यकता हो।

No comments:

Post a Comment