नारदमुनि थुलुङ (Naradmuni Thulung) भोजपुर जिल्लामा जन्मिनु भएको एक प्रमुख प्रजातान्त्रिक योद्धा, सैनिक, शिक्षक र समाजसेवी हुनुहुन्थ्यो।
उहाँको जन्म बि.सं. १९६५ (चैत २७; ८ अप्रैल १९०९ ई.) थिछिनामखु, नौलेगाउँ (हालको टेम्केमैयुङ गाउँपालिका–२), भोजपुरमा भएको थियो।
उहाँको प्रारम्भिक शिक्षा भारतको देहरादून र दरभङ्गा मा भएको थियो। उहाँले सन् १९२५–३० र १९३४–४६ सम्म दुई चरणमा बेलायती भारतीय गोर्खा सेनामा सेवा गर्नुभएको थियो।
राणा शासनविरुद्धको सशस्त्र आन्दोलन—वि.सं. २००७ साल (१९५१) को प्रजातन्त्र आन्दोलन—मा पूर्वाञ्चल, विशेषगरी भोजपुरबाट नेतृत्वात्मक भूमिका निर्वाह गर्नुभएको थियो। मंसिर २४ गते भोजपुर कब्जामा उहाँ पुर्वी कमाण्डर हुनुहुन्थ्यो।
मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा उहाँ स्वायत्त मन्त्री, त्यसपछि मालपोत, वन र रक्षा मन्त्री हुनुभएको थियो। उहाँ राई समुदायदेखि पहिलो मन्त्रीको रूपमा चिनिनुभएको छ।भूमि सुधार आयोगको अध्यक्ष समेत हुनुभएको राईले जमिन सीमा, कृषक कर्जा आदि विषयमा आफू अध्यक्ष भएको बेलामा सरकार समक्ष यी विषयहरूमा सुधारका लागि सिफारिस प्रस्तुत गर्नुभएको थियो।।
राईले विक्रम सम्वत् २००४ सालमा विदेशबाट फर्केर पहिलो प्राथमिक विद्यालय—“उदय प्राइमरी स्कूल”—भोजपुर बजारमा स्थापना गर्नुभएको थियो ।त्यसपछि टक्सारमा “विद्योदय हाई स्कूल” (२००८) र उदयपुरको बसाहामा “नारद आदर्श हाई स्कूल” स्थापना गर्नुभएको थियो, जसबाट हाल उच्च माध्यमिक र क्याम्पस तहसम्म शिक्षा उपलब्ध गराइएको छ।
गजेन्द्रमणि प्रधानले स्मरणमा सुनाएको अनुसार, नारदमुनि स्वयं अंग्रेजी पढाउनु हुन्थ्यो—“द्याट इज अ फरेस्ट, द्याट इज अ हिल”—जस्ता सरल तर प्रभावशाली सिकाउने शैलीले स्थानीय बालबालिकामा क्रान्तिकारी चेतना जगाउनुभएको थियो।
उहाँले प्रजातन्त्र र शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर स्वरूप, उहाँको चित्र अंकित आठ लाखभन्दा बढी रु. १० मूल्यका हुलाक टिकट चलनमा आएको थियो। हाल कोशी प्रदेश सरकारले उहाँको नाममा चौदण्डीगढी नगरपालिकाको बसाहामा पूर्णकदको शालिक स्थापना गरी उहाँलाई श्रद्धासुमन अर्पण गरेको छ भने उहाँ जन्मेको जन्मस्थान भोजपुर जिल्लाको गाउँपालिका मा पनि उहाँको नाममा नारदमुनि थुलुङ पार्क निर्माण भइरहेको छ।
स्व. नारदमुनि थुलुङको निधन बि.सं. २०४७ (फेब्रुअरी ५, १९९१ ई.) मा भएको थियो।

No comments:
Post a Comment