Wednesday, September 17, 2025

क्रान्तिका नाममा इतिहास मर्नु हुँदैन।

                                   

                         
                            _  सन्तोष पोख्रेल 

विक्रम सम्वत १९७० को दशकका मोरङका चर्चित बडा हाकिम कर्नेल जितबहादुर खत्री सुवेदीको सामिप्यताले खरदार बन्न पुगेका पिताजी कृष्णप्रसाद कोइराला विराटनगरका लागि एउटा ऐतिहासिक नाम हो। मोरङको सदरमुकाम विराटनगर सार्ने क्रममा वडाहाकिम जितबहादुरले कृष्णप्रसाद कोइरालाको समूहलाई धेरै मद्दत गरेका थिए। खरदार बाजेका नामले चिनिने पिताजी कोइरालाले विराटनगरकाे विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको कुरालाई कसैले पनि नकार्न सकिँदैन। अहिलेका GEN _Z उमेर समूहका जस्तै तत्कालीन राणाहरूसँग संघर्ष गरेर नेपालको राजनैतिक र शैक्षिक क्षेत्रमा हत्वपूर्ण योगदान पुर्‍याउने पिताजी कोइरालाको अन्त्य पनि कारागार भित्र नै भएको थियो। संघर्षै संघर्षमा आफ्नो जीवन समाप्त गरेका पिताजी कृष्णप्रसाद कोइरालाले आफ्नो दुःखको बेला निर्माण गरेको ऐतिहासिक घर अहिले जेन्जी आन्दोलनलाई एउटा अवसर बनाएर जसले ध्वस्त बनाए उनीहरुले यो कुरा राम्ररी हेक्का राख्न जरुरी छ।

 राणाहरूको बर्बर सामन्ती संस्कारभित्र पनि सर्वसाधारण जनताका छोराछोरीहरूले पढ्न पाउनुपर्छ। नागरिकले अधिकार प्राप्त गर्नुपर्छ भनेर आवाज उठाउने , राणाहरूलाई एउटा गरिब किसानको कपडा पोको पारेर पार्सल पठाउने एकजना क्रान्तिकारी योद्धा कृष्णप्रसाद कोइराला जसको इतिहासलाई आज जसले भौतिक रुपमा नष्ट गर्ने सपना देखेको छ त्यो कुरा कदापि सम्भव छैन। इतिहास मारेर वर्तमान कहिल्यै सुधार गर्न सकिँदैन। इतिहासलाई साथमा लिएर मात्र वर्तमानलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। 

नन्दिकेशर कोइरालाका चार भाइ छोरा कालिदास नारायणप्रसाद हिरालाल र कृष्णप्रसाद सिन्धुलीको दुम्जा भन्ने ठाउँकाका रैथाने थिए। त्यस्तो अनकण्टार ठाउँमा जन्मिएका भएपनि कृष्णप्रसाद कोइरालाले शिक्षा र राजनैतिक चेतना वृद्धि गर्न निकै संघर्ष गर्नुपरेको इतिहास छ।

पत्रकार प्रकृति अधिकारीद्वारा लेखिएको खोजमूलक एउटा लेख अनुसार पिताजीले निर्वासित हुनु पहिले नै विसं १९७१ मा सिराहाको माडरमा विद्यालय खोल्नुभएको थियो। तत्कालीन समयमा उहाले  चन्द्रगञ्ज बजार अहिले जसलाई माडर भनिन्छ मा भन्सार प्रमुख भएर काम गर्दा त्यस क्षेत्रमा विद्यालय नभएको हुनाले तत्कालीन बडा हाकिम माणिकलालसँग सल्लाह गरी स्थानीय बुद्धिजीवीहरूको भेला बोलाई छलफल गर्दा स्थानीयहरु खुसी भएर जग्गा समेत उपलब्ध गराएका थिए। विद्यालय स्वीकृतिको लागि सरल हुने हेतुले चन्द्रशमशेरको नामको पहिलो शब्द  चन्द्र ,विद्यालय स्थापनाका लागि मुख्य भूमिका निर्वाह गर्ने बडा हाकिमको नामको पहिलो शब्द माणिक र विद्यालय स्थापना गर्न सबै प्रमुख भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद कोइरालाको कृष्ण मिलाएर तीनैजनाको संयुक्त नामबाट चन्द्रमाणीककृष्ण पाठशाला स्वीकृतिको लागि पठाइएको थियो। तर कृष्ण हटाएर चन्द्रमाणिक मात्र नामाकरण भएर विद्यालय स्वीकृत भयो। 

कृष्णप्रसाद कोइराला जनताप्रति कति सचेत हुनुहुन्थ्यो भन्ने कुरा बीपी कोइरालाको आत्मवृतान्तको पेज नम्बर ५ मा उल्लेख गरिए अनुसार उहाँले एउटा लुगाको पार्सल बनाएर चन्द्रशमशेरलाई पठाउनुभएको थियो। उक्त पार्सल पठाउँदा पिताजीले लेखेको चिठीमा सरकारले आफूले लगाएको पोशाक र आफ्नो प्रजाको पोशाकको फरक हेर्नका लागि यो पार्सल पठाउँदै छु। यो खोल्दा गनाउला त्यसो हुनाले सरकारले टाढै बसेर खोल्न लगाई हेरीबक्सेला भनेर लेखिएको थियो। 

त्यही चिठीका कारण पिताजी देशबाट निर्वासित हुनुपर्यो। चन्द्र शमशेरको पालामा निर्वासित भएर भारतको बिहारको टेडी भन्ने ठाउँमा आफ्ना सबै परिवारका सदस्यलाई लिएर बस्नुभएका कृष्णप्रसाद कोइरालाले त्यस ठाउँका र आफ्ना बालबालिकाहरूलाई अध्ययन गर्नका लागि विक्रम सम्वत १९८१ सालमा विद्यालय खोल्नुभयो। चन्द्र शमशेरको मृत्यु पश्चात श्री ३ भएका भीम शमशेरले आम माफी दिएपछि पिताजी पुन विराटनगर फर्कनुभयो। विराटनगर फर्कँदा उहाँ बिहारको टेडीबाट त्यहाँको विद्यालयका सबै शिक्षकहरू सहित आउनुभयो । विक्रम सम्वत १९८६ मा सपरिवार नेपाल प्रवेश गरेपछि विराटनगर स्थित कोइराला निवासको पुरानो घरमा तलको एउटा कोठामा विद्यार्थी भेला गरी अध्यापन गर्न थालियो। कृष्णप्रसाद कोइरालाले शिक्षकका रूपमा भारतीय नागरिक रघुनन्दनलाल दासलाई व्यवस्था गरिदिनु भएको थियो। रघुनन्दन त्यस विद्यालयमा सुरुका ११ वर्षसम्म प्रधानाध्यापक बने कृष्णप्रसादले भारतको कलकत्ताबाट ल्याएका शिक्षकलाई आफ्नै घरमा राख्ने व्यवस्था गर्नुभएको थियो भने पारिश्रमिक र खानपिनको व्यवस्था पनि आफैले उपलब्ध गराएका थिए। विद्यार्थी संख्या बढ्दै गएपछि कृष्णप्रसादले मातृकाप्रसादको घर रहेको स्थानमा एउटा टहरो बनाइदिए। उनले स्थानीय सुरेन्द्रबहादुर श्रेष्ठ र रामलाल गोल्छासँग विद्यालय स्थापना गर्न जग्गा माग गरेअनुसार कोइराला निवासको उत्तरतर्फ सुरेन्द्रबहादुरले १६ कट्ठा र रामलालले एक बिघा जग्गा विद्यालयलाई प्रदान गरे १९९२ साल ताका सोही जग्गामा सामान्य भवन निर्माण गरी विद्यालयलाई कोइराला निवास परिसरबाट सोही जग्गामा सारिएको  थियो । पिताजी कृष्णप्रसाद कोइरालाले स्थापना गरिदिनुभएको विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीहरु नेपालका प्रधानमन्त्री , मन्त्री, विभिन्न प्राविधिक क्षेत्रका विशिष्ट पदका व्यक्तित्वहरु ,न्यायालयका विशिष्ट व्यक्तित्वहरु लगायत विभिन्न ठाउँमा पुग्नुभएको छ।

विराटनगरको मात्र नभई नेपालकै दोस्रो जनताका छोराले स्थापना गरेको स्कुलका रूपमा परिचित आदर्श माध्यमिक विद्यालय पूर्वी क्षेत्रकै शिक्षा सुधारको एउटा उद्गम स्थल बनेको थियो। विराटनगरको चर्चित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस जुन अहिले महेन्द्र मोरङका नामले परिचित छ उक्त क्याम्पस समेत आदर्श माध्यमिक विद्यालयकै प्राङ्गणमा स्थापना भएको थियो। त्यसैगरी हाल पूर्वाञ्चल विश्वविद्यालयको नाममा सञ्चालित तात्कालीन जनता बहुमुखी क्याम्पस जुन विराटनगरको एक नम्बर वडामा अवस्थित छ। उक्त क्याम्पस समेत आदर्श माध्यमिक विद्यालयमा रात्रीकालीन क्याम्पसको रुपमा स्थापना भएको इतिहास छ। यी सबैको धरोहरका रुपमा रहेका पिताजी कृष्णप्रसाद कोइराला अहिलेको  आन्दोलनका नायक र अहिलेको सामाजिक अभियन्ताहरु भन्दा कम हुनुहुन्न थियो। देश र जनताको लागि आफ्नो ज्यान समेत जेलभित्र नै समाप्त गर्न सफल हुनुभएका यस्ता महानायक कृष्णप्रसाद कोइराला जसले आफूले संघर्ष गरेर निर्माण गरेको घर आज केही गलत मान्छेको गिद्दे नजरमा परी खण्डहरमा परिणत गर्दै गर्दा धेरै भन्दा धेरै आत्माहरु  पक्कै रुएको हुनुपर्छ। 

कोइराला निवास कुनै एउटा राजनैतिक व्यक्ति वा काङ्ग्रेस पार्टीको पार्टी कार्यालय थिएन। यो त एउटा राजनीतिक अनुशासन र राजनैतिक संस्कारका लागि एउटा मन्दिर थियो। भौतिक भवनहरू भत्किए पनि पिताजीले देखाएको बाटो पक्कै पनि मर्ने छैन । इतिहास मारेर वर्तमान बनाउने सोच ले कहिल्यै पनि देश निर्माण हुन सक्दैन। भावी पुस्तालाई हामीले संस्कार दिन सक्नुपर्छ। सहीलाई सही र गलतलाई गलत संस्कारको विकास हुन जरुरी छ। जबसम्म मेरो र तेरो भन्ने सोच रहन्छ तबसम्म हामी काहीँ पुग्न सक्दैनौ।

अझै पनि जे भएको छ त्यो गलत भएको छ म सम्पूर्ण जिएनजी युवा भाइबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु पिताजी कृष्णप्रसाद कोइरालाको त्यो निवास अब हामी सबै मिलेर फेरि उठाउनुपर्छ र एउटा राजनैतिक मन्दिरको अन्त्य हुन दिनु हुँदैन। पिताजी कृष्णप्रसाद कोइराला। न कुनै राजनैतिक दलको हुनुहुन्थ्यो न कुनै सिद्धान्तको उहाँ त खाली देश र नागरिकको चिन्ताका लागि सधैं संघर्षशील हुनुहुन्थ्यो त्यसैले कोइराला निवासलाई कुनै दलको पार्टी कार्यालयको रुपमा नहेर्नका लागि पनि म सम्पूर्ण नेपाली नागरिकहरूमा अनुरोध गर्न चाहन्छु । 


Friday, September 12, 2025

GENZआन्दोलन कारण र अबकोआवश्यकता

          
- सन्तोष पोख्रेल


यसपटकको जेन्जीहरूको आन्दोलन धेरैको बुझाइमा नेताहरूका विरुद्ध र उनीहरूको कार्यशैलीका विरुद्ध मात्र हो भन्ने ठम्याई हुनुपर्छ। केही अर्थमा यो हुन सक्छ। तर सबैभन्दा ठूलो कुरो हाम्रो देशको राज्य सञ्चालन प्रणाली नै हो। कुनै पनि काम को सफलता र असफलता नेतृत्वको नाममा आएता पनि त्यो

नेतृत्वलाई सफल बनाउने वा असफल बनाउने भन्ने कुरा उसभित्रका विभिन्न अङ्गहरुले गर्छन्। हाम्रो देशमा सेवा प्रदायकका रूपमा रहेका विभिन्न निकायहरू र ती निकायमा काम गर्ने केही व्यक्तिको कार्यशैलीका कारण पनि आजका युवा हरू यो अवस्थामा पुगेका हुन् भन्न कुनै कन्जुस्याई गर्नु पर्दैन। जसको जिम्मा हामी सरकारी तलब खाएर बस्ने सम्पूर्ण व्यक्तिहरूले लिनुपर्छ र हामी अब हाम्रो कार्यशैलीमा सुधार ल्याउन प्रतिबद्ध हुनुपर्छ। सेवाग्राहीहरूलाई एउटा झ्यालमा गएर १० रुपियाँको हुलाक टिकट टाँस्ने, अर्कोमा गएर तोक लगाउने, अर्कोमा गएर दर्ता गर्ने, अर्कोमा गएर रुजु गर्ने, अर्कोमा गएर भिडाउने, अर्कोमा गएर भौचर भर्ने, अर्कोमा गएर दाखिला गर्ने, अर्कोमा गएर हस्ताक्षर गर्ने, अर्कोमा गएर......... यसरी प्रकृयाको माखे साँग्लो पुरा गर्दा गर्दै एक घण्टामा हुने काम तीन दिनसम्म हुँदैन जसका कारण सेवाग्राहीहरूले अत्यन्त पीडा महसुस गर्छन्। एउटै ठाउँमा सम्पन्न हुने काम कागजी घोडाका कारण अत्यन्त कष्टकर बनेको हुन्छ। हाम्रा कानुनहरु कागजी घोडामा आधारित छन्। स्थलगत अनुगमन र स्थलगत अडिटमा नै कार्य सम्पन्न हुने गरी को कानुन बन्नु अबको आवश्यकता हो। आजको दुनिया short cut मा आधारित छ। युवाहरू त्यसैमा रमाएका छन्। अब पनि हामीले घुमाउरो पद्धतिलाई यथावत राख्यौँ भने अबको युवा पुस्ताले स्वीकार्न सक्दैन। डिजिटलको युगमा रमाएको युवा पुस्ता shortcut key बाट कम्प्युटरका कामहरू गर्न बानी परेको छ। त्यसैले ऊ त्यस्तै छिटो प्रकृतिको कामको आशा गर्छ। अब पनि हामीले पुरानै ढाँचा र ढर्राका कामहरु गर्यौ भने त्यसले अझै पनि निकास दिन सक्दैन। स्थलगत रूपमा काम होस् नहोस् कागजी रूपमा प्रक्रिया पुगेको छ भने त्यो मान्य हुने परीक्षण पद्धतिको अन्त्य हुन जरुरी छ। निजी क्षेत्रले कुनै काम गर्नुपर्यो भने एक घण्टाभित्र डिसिजन गरेर एक दिनभित्र उक्त काम सम्पन्न गर्न सक्छ। तर हाम्रो प्रणालीले विभिन्न लुपहोलहरू तयार गर्नका लागि नयाँ नयाँ कागजी घोडाहरु तयार गरेर त्यसका आधारमा महिनौसम्म कार्य सम्पन्न गर्न नसकिने गरीका कानुनी दस्तावेजहरू तयार गरी काम गर्न चाहनेहरूलाई पनि अवरोध गरिएको छ। एउटा बिरामीका लागि औषधि किन्नुपर्ने परिस्थिति सिर्जना भयो भने बिरामी मरेपछि मात्रै कागज पुरा हुन्छ। एउटा कुनै नयाँ काम गर्नुपर्यो भने कागजी काम पूरा गर्दागर्दै निजी क्षेत्रले उक्त काम आफूभन्दा १५ दिन अगाडि नै गरिसक्छ। जसको कारण सरकारी काममा सर्वसाधारणको विश्वास रहँदैन। यो कुरा अबको कार्यशैलीमा परिवर्तन हुन जरुरी छ। अबको कानुन अधिकार र दण्ड दुवै अधिकतम हुनेगरी बन्नुपर्छ अधिकतम अधिकार प्रयोग गर्न सक्ने उक्त अधिकारको दुरुपयोग भयो भने अधिकतम दण्ड हुन सक्ने कानुनी व्यवस्था सहितको कार्यशैली आजको आवश्यकता हो।

Saturday, September 6, 2025

नारदमुनि थुलुङ को हुन् ?

 

नारदमुनि थुलुङ (Naradmuni Thulung) भोजपुर जिल्लामा जन्मिनु भएको एक प्रमुख प्रजातान्त्रिक योद्धा, सैनिक, शिक्षक र समाजसेवी हुनुहुन्थ्यो।

उहाँको जन्म बि.सं. १९६५ (चैत २७; ८ अप्रैल १९०९ ई.) थिछिनामखु, नौलेगाउँ (हालको टेम्केमैयुङ गाउँपालिका–२), भोजपुरमा भएको थियो।

उहाँको प्रारम्भिक शिक्षा भारतको देहरादून र दरभङ्गा मा भएको थियो। उहाँले सन् १९२५–३० र १९३४–४६ सम्म दुई चरणमा बेलायती भारतीय गोर्खा सेनामा सेवा गर्नुभएको थियो।

राणा शासनविरुद्धको सशस्त्र आन्दोलन—वि.सं. २००७ साल (१९५१) को प्रजातन्त्र आन्दोलन—मा पूर्वाञ्चल, विशेषगरी भोजपुरबाट नेतृत्वात्मक भूमिका निर्वाह गर्नुभएको थियो। मंसिर २४ गते भोजपुर कब्जामा उहाँ पुर्वी कमाण्डर हुनुहुन्थ्यो।

मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा उहाँ स्वायत्त मन्त्री, त्यसपछि मालपोत, वन र रक्षा मन्त्री हुनुभएको थियो। उहाँ  राई समुदायदेखि पहिलो मन्त्रीको रूपमा चिनिनुभएको छ।भूमि सुधार आयोगको अध्यक्ष समेत हुनुभएको राईले जमिन सीमा, कृषक कर्जा आदि विषयमा आफू अध्यक्ष भएको बेलामा सरकार समक्ष यी विषयहरूमा सुधारका लागि सिफारिस प्रस्तुत गर्नुभएको थियो।।

राईले विक्रम सम्वत् २००४ सालमा विदेशबाट फर्केर पहिलो प्राथमिक विद्यालय—“उदय प्राइमरी स्कूल”—भोजपुर बजारमा स्थापना गर्नुभएको थियो ।त्यसपछि टक्सारमा “विद्योदय हाई स्कूल” (२००८) र उदयपुरको बसाहामा “नारद आदर्श हाई स्कूल” स्थापना गर्नुभएको थियो, जसबाट हाल उच्च माध्यमिक र क्याम्पस तहसम्म शिक्षा उपलब्ध गराइएको छ।

गजेन्द्रमणि प्रधानले स्मरणमा सुनाएको अनुसार, नारदमुनि स्वयं अंग्रेजी पढाउनु हुन्थ्यो—“द्‍याट इज अ फरेस्ट, द्‍याट इज अ हिल”—जस्ता सरल तर प्रभावशाली सिकाउने शैलीले स्थानीय बालबालिकामा क्रान्तिकारी चेतना जगाउनुभएको थियो।

उहाँले प्रजातन्त्र र शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर स्वरूप, उहाँको चित्र अंकित आठ लाखभन्दा बढी रु. १० मूल्यका हुलाक टिकट चलनमा आएको थियो। हाल कोशी प्रदेश सरकारले उहाँको नाममा चौदण्डीगढी नगरपालिकाको बसाहामा पूर्णकदको शालिक स्थापना गरी उहाँलाई श्रद्धासुमन अर्पण गरेको छ भने उहाँ जन्मेको जन्मस्थान भोजपुर जिल्लाको गाउँपालिका मा पनि उहाँको नाममा नारदमुनि थुलुङ पार्क निर्माण भइरहेको छ।

स्व. नारदमुनि थुलुङको निधन बि.सं. २०४७ (फेब्रुअरी ५, १९९१ ई.) मा भएको थियो।


Saturday, August 9, 2025

गजल

 

- सन्तोष पोखरेल
जतिसम्म सक्छौ तिमी सजाएर राख मलाई ,

गुलियो छु कि अमिलो छु अघाउँजी चाख मलाई ।

दुनियालाई भाउ नदेउ जे जे भन्छन् छोडिदेउ ,

कहिले दिन्छौ तिमी भन निदाउन काख मलाई ।

यो मायाको प्राप्ति ठान्थे तिम्रो मिठो सामिप्यता ,

सय हजार मात्रै हैन यही हुन्थ्यो लाख मलाई ।

चोरी लग्यौ मनमुटु मलाई पनि चोर्न देउ,

दुनियाले जे जे भनुन् चाहिएन साख मलाई।

Wednesday, August 6, 2025

सिकाइमा रुचि नदेखाउने विद्यार्थीहरूका लागि प्रभावकारी अभ्यास

 

      -  सन्तोष पोख्रेल 
 
                                                                   शिक्षण एक कलाको साथै विज्ञान पनि हो प्रत्येक विद्यार्थी फरक पृष्ठभूमिरुचिक्षमता र व्यवहार बोकेर कक्षामा आएका हुन्छन उनीहरु भित्रको विविधतालाई हामीले शिक्षण सिकाइ को माध्यम बाट सम्बोधन गर्नु पर्छ 

 

 शिक्षकको लागि सबै विद्यार्थीलाई समान रूपमा सिकाउने चुनौती विशेषत: तब गहिरिन्छ जब केही विद्यार्थीहरू कक्षामा ध्यान दिँदैनन्चकचक गर्छन् वा सिकाइमा रुचि देखाउँदैनन्  यस्तो  अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न शिक्षकले   विविध अभ्यास अपनाउनु आवश्यक हुन्छ  जसबाट कक्षा  अनुशासितसक्रिय र सहभागीमुलक बन्न सक्छ ।                                                   

१. सकारात्मक वातावरण सिर्जना गर्ने

शिक्षकको पहिलो जिम्मेवारी भनेको कक्षामा सकारात्मक सिकाइ वातावरण तयार गर्नु हो विद्यार्थीहरूले  आफूलाई सुरक्षित सम्मानित महसुस गरेमा मात्र उनीहरू सिकाइतर्फ आकर्षित हुन्छन्विद्यार्थीहरूलाई नामले बोलाउने, सानो प्रगतिको पनि प्रशंसा गरिदिने , उनीहरूका विचार सुन्ने जस्ता गतिविधिले उनीहरुमा आत्मविश्वास बढाउँछ। डर, त्रास वा निरन्तर आलोचना गर्ने शैलीले तिनीहरूलाई अझ पछि हट्न बाध्य पार्न सक्छ ।

२. सक्रिय सिकाइ पद्धति प्रयोग गर्ने

सुनाउने, लेखाउने वा घोकाउने तरिकाको शिक्षण विधिले धेरैजसो ध्यान नदिने र  विद्यार्थीहरू अझ निष्क्रिय बन्न पुग्छन जसको समाधानकालागि उनीहरूलाई कक्षा गतिविधिमा सहभागीता, समूह कार्य,  चित्रकला, नाटक, खेल प्रयोग गरेर सिकाइ गराउँदा उनीहरूको सिकाइमा बढी ध्यान केन्द्रित हुन्छ। उदाहरणका लागि, पाठ पढ्न र सुन्न नचाहने विद्यार्थीलाई त्यो पाठको नाटक बनाउन लगाउने वा उसलाई संवाद बोल्न लगाउने अभ्यासले ऊ सक्रिय हुन सक्छ

३. छोटो, रोचक र दृश्य सामाग्री प्रयोग गर्ने

निरन्तर उस्तै स्वर र तरिकाको व्याख्यान विधिले  सिकाउदा विद्यार्थीहरूको ध्यान अन्यत्र जान सक्छ त्यसैले यस्तो बेलामा मल्टिमिडिया (भिडियो, अडियो), चार्ट, फ्ल्यास कार्ड, चित्र, रोचक सवाल–जवाफ तथा क्यारिकेचर प्रयोग गरेर सिकाइ प्रस्तुत गर्दा उनीहरूको चासो बढ्छ विशेषगरी ध्यान नदिने वा चकचक गर्ने विद्यार्थीहरू दृश्य सामाग्रीतर्फ बढी आकर्षित हुन्छन्

४. व्यवहार सुधार कार्यक्रम अपनाउने

कक्षामा बारम्बार बाधा पुर्याउने विद्यार्थीहरूको व्यवहार सुधारका लागि सकारात्मक व्यवहार व्यवस्थापन रणनीति आवश्यक पर्छ जसकालागि स्पष्ट नियम बनाएर सुरुमा नै सबैलाई जानकारी दिने, नियम पालना गर्दा पुरस्कार (सार्वजनिक प्रशंसा, ताली, स्टार इत्यादि) दिने, उल्लंघन गर्दा मिलनसार स्वरमा सम्झाउने, निरन्तर अवज्ञा गरेमा वैकल्पिक जिम्मेवारी दिन सकिन्छ – जस्तै "तिमी आजको समूह नेता", "तिमी बोर्डमा लेख्ने काम गर", आदि कार्य गर्नु गराउनु पर्छ यस्ता अभ्यासले ती विद्यार्थीहरूलाई उत्तरदायी बनाउँछ

५. रुचि पहिचान गरेर सिकाइमा समावेश गराउने

ध्यान नदिने वा सिकाइमा रुचि नदेखाउने विद्यार्थीहरू सधैं पढ्न रुचाउँदैनन् तर उनीहरू अन्य क्षेत्र जस्तै कला, खेल, सङ्गीत, प्रविधिमा सक्षम हुन सक्छन्यस्तो अबस्थामा शिक्षकले विद्यार्थीहरूको व्यक्तिगत रुचि बुझेर त्यसलाई शिक्षण सामग्रीसँग जोड्न सकेमा उनीहरूको सहभागिता स्वाभाविक रूपमा बढ्छउदाहरणका लागि, फुटबल मन पराउने विद्यार्थीलाई गणितको समस्या "यदि एक खेलाडीले ५ खेलमा २–२ गोल गर्‍यो भने..." भन्ने शैलीमा प्रस्तुत गर्न सकिन्छ

६. व्यक्तिगत संवाद र मार्गदर्शन गर्ने

कहिलेकाहीँ विद्यार्थीको चासो घट्नुको कारण घरायसी समस्या, आत्मविश्वासको कमी, वा अरु समस्याहरू हुन सक्छन्यस्तो हो भने शिक्षकले समय छुट्याएर व्यक्तिगत रूपमा ती विद्यार्थीहरूसँग संवाद गर्नु पर्छउनीहरूको समस्या सुन्नु र समाधानको सल्लाह दिनु, उनीहरु प्रति चासो देखाएको आभाष गराउनु पर्छ जसले शिक्षक–विद्यार्थीको सम्बन्ध मजबुत बनाउन मद्दत गर्छ

७. पाठ्यक्रमसँग सम्बन्धित रमाइलो खेल वा प्रतियोगिता गराउने

चकचक गर्ने वा ध्यान नदिने विद्यार्थीहरूको ऊर्जा बढी हुन्छ उनीहरूलाई स्थिर राख्नभन्दा सक्रिय बनाएर सिकाउने विधि प्रभावकारी हुन्छशब्द खेल, क्विज, सच्याउने खेल, वा समय सीमामा कार्य पूरा गर्ने प्रतियोगिता जस्ता गतिविधिहरू प्रयोग गर्नु उपयुक्त हुन्छउदाहरणका लागि: ‘३० सेकेन्डमा ५ वटा समानार्थी शब्द लेख्ने’ खेल।

८. सेल्फ–मोनिटरिङ र आत्म–अवलोकन गराउने

विद्यार्थीलाई आफ्नो व्यवहार बुझ्ने र सुधार्ने अवसर दिनु पनि शिक्षकको महत्वपूर्ण भूमिका हो। जसकालागी हप्ताको अन्त्यमा आफूलाई मूल्याङ्कन गर्न लगाउनु पर्छमैले कक्षामा कति ध्यान दिएँ?”, कतिवटा प्रश्नको उत्तर दिएँ?”, म कुन कुरामा सुधार गर्न चाहन्छु?” जस्ता प्रश्नहरूको उत्तर लेख्न लगाउने अभ्यासले विद्यार्थीलाई आत्मचिन्तन गर्न उत्प्रेरित गर्छ

९. अभिभावकसँग सहकार्य गर्ने

यदि शिक्षकका सबै अभ्यास असफल भए भने अभिभावकसँग नियमित सम्पर्क राख्नु पनि आवश्यक हुन्छअभिभावक–शिक्षक बैठकमा विद्यार्थीको व्यवहार, कमजोर पक्ष, सुधार उपायबारे छलफल गर्नु, सकारात्मक ढंगले समस्या समाधानको सहकार्य गर्नु प्रभावकारी हुन्छ

१०. आफू पनि निरन्तर सिक्दै जाने

सबै शिक्षकहरुले  एकै शैलीले सबै विद्यार्थीलाई सिकाउन सकिने ठान्नु भूल होशिक्षकले बालमनोविज्ञान, समावेशी शिक्षा, सिकाइ विविधता जस्ता विषयमा जानकारी लिनु पर्छ, अन्य शिक्षकसँग अनुभव साट्नुपर्छ , नयाँ शिक्षण प्रविधि अपनाउनु पनि उत्तिकै आवश्यक हुन्छ

निष्कर्ष

कक्षामा ध्यान नदिने, चकचक गर्ने वा सिकाइमा मन नदिने विद्यार्थीहरू शिक्षण प्रक्रियाका सबैभन्दा चुनौतीपूर्ण पक्ष हुन् तर शिक्षकको धैर्यता, समझदारी, सिर्जनशीलता र सकारात्मक व्यवहारद्वारा यिनलाई पनि सिकाइको मूल प्रवाहमा ल्याउन सकिन्छ शिक्षण केवल पाठ्यपुस्तक सिकाउने काम होइन; यो विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूको समग्र व्यक्तित्व विकास गर्ने प्रक्रिया होएक कुशल शिक्षकका लागि सबै विद्यार्थी बराबर हुन्, तर प्रत्येक विद्यार्थीलाई सिकाउन एउटै उपाय बराबर हुँदैन त्यसैले ‘एक उपाय सबैका लागि’ को सट्टा ‘विद्यार्थीअनुसार उपाय’ अपनाउनु नै शिक्षण सफलताको रहस्य हो। बिबधा बोकेको कक्षामा एउटा मात्र तरिका अपनाउने गर्यौ भने त्यसले सिकाइमा सफलता प्राप्त हुदैन त्यसैले हामीले कक्षामा बिबिधता लाइ सम्बोधन हुने गतिबिधि संचालन गर्नु जरुरि छ


Tuesday, July 22, 2025

बिपी कोइरालाको जीवनी – एक युगपुरुषको कथा

परिचय

बिश्वेश्वरप्रसाद कोइराला, अर्थात् बिपी कोइराला, नेपाली राजनीतिका एक अमर पात्र हुन् । उनी केवल राजनीतिज्ञ मात्रै होइनन्, साहित्यकार, समाजवादी चिन्तक, र लोकतन्त्रका महान  योद्धा पनि थिए । उनको जीवन नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग गहिरो रूपमा गाँसिएको छ । बिपी कोइरालाको योगदानले नेपालको राजनीतिक दिशा परिवर्तन गर्‍यो र उनले नेपाली जनतालाई स्वतन्त्रता, समानता र सामाजिक न्यायको चेतना दिन महत्त्वपूर्ण भूमिका खेले ।

प्रारम्भिक जीवन र शिक्षा

बिपी कोइरालाको जन्म सन् १९१४ जुलाई ८ मा भारतको बनारस (वाराणसी) मा भएको थियो । उनका पिता कृष्णप्रसाद कोइराला पनि एक राजनीतिक चेतनायुक्त व्यक्ति थिए, जसको प्रभाव बालक बिपीमा निकै देखिन्थ्यो । बाल्यकालदेखि नै उनीमा अध्ययन र लेखनप्रतिको रुचि प्रकट हुन्थ्यो ।

बिपीले प्रारम्भिक शिक्षा भारतमै लिए । उच्च शिक्षा भारतकै काशी हिन्दू विश्वविद्यालय (BHU) र कलकत्तास्थित प्रेसीडेन्सी कलेजबाट पाए । उनले राजनीति शास्त्र, अर्थशास्त्र र कानूनमा गहिरो अध्ययन गरे । पछि उनी वकालत पढ्न कलकत्ताबाट इंगल्यान्ड पनि गएका थिए ।

राजनीतिक जीवनको सुरुवात

बिपी कोइरालाले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत भाग लिएका थिए । महात्मा गान्धी र पं. नेहरूबाट उनी प्रभावित थिए र उनले भारतीय राष्ट्रिय कांग्रेसका क्रियाकलापमा समेत संलग्नता जनाए ।

तर उनको मुटु सधैं नेपालमै थियो । उनी नेपाल फर्किएपछि नेपाली जनताको स्वतन्त्रता र लोकतन्त्रका पक्षमा लागे । सन् १९४७ मा उनले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे, जसले पछि नेपाली कांग्रेसको रुप लियो । उनले नेपालमा राणा शासनको विरुद्ध लड्न सुरु गरे । राणा शासनको कठोर प्रतिरोध गरेकै कारण उनी थुप्रै पटक भारत निर्वासनमा रहनुपर्‍यो ।

सन् १९५०-५१ को सशस्त्र क्रान्ति बिपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले सुरु गर्‍यो । राणा शासनको अन्त्य गराएर राजा त्रिभुवनको नेतृत्वमा प्रजातान्त्रिक शासन प्रणालीको सुरुवात गरियो । यो नेपालको इतिहासको एउटा क्रान्तिकारी मोड थियो जसको श्रेय मुख्य रूपमा बिपी कोइरालालाई जान्छ ।

नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री

सन् १९५९ मा नेपालको इतिहासमै पहिलो पटक लोकतान्त्रिक निर्वाचन भयो । नेपाली कांग्रेसले बहुमत प्राप्त गरेपछि बिपी कोइराला नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । प्रधानमन्त्री हुँदा उनले धेरै प्रगतिशील सुधारहरु ल्याए :

  • भूमि सुधार कार्यक्रमको थालनी
  • शिक्षा र स्वास्थ्य सेवामा सुधार
  • गरिब, किसान र मजदुरको हितमा नीतिहरू
  • प्रेस स्वतन्त्रता र मानव अधिकारको संरक्षण

तर, उनको शासन लामो समय टिक्न सकेन ।
सन् १९६० डिसेम्बर १५ मा राजा महेन्द्रले संसद भंग गरी पञ्चायती व्यवस्था लागू गरे र बिपी कोइरालालाई गिरफ्तार गरियो ।

जेल जीवन र आत्मबल

बिपी कोइरालाको जीवनको धेरै भाग जेलमा बितेको थियो । राजा महेन्द्रको शासनकालमा उनी करिब ८ वर्ष लामो जेल जीवनमा परे । जेलमा हुँदा उनले अनेकौं साहित्यिक कृति लेखे – जसमा 'मोदी आइन', 'तीन घुम्ती', 'सुम्निमा', 'झुन्ड', 'नेरूदाको पत्र', जस्ता कालजयी कृतिहरू छन् ।

जेलको पीडाले उनको आत्मबललाई कहिल्यै कमजोर बनाउन सकेन । उनी सधैं लोकतन्त्रको पक्षमा अडिग रहे । उनलाई जेलले शारीरिक कष्ट दियो, तर विचारमा झन बलियो बनायो । जेल जीवनमा रहँदा उनले आत्मकथा र समाजवादी चिन्तनमाथि लेखहरू लेखे ।

निर्वासन र पुन: आगमन

सन् १९६८ मा रिहा भए पछि बिपी कोइराला भारतमा निर्वासित जीवन बिताउँदै आएका थिए । उनले त्यहाँबाट पनि नेपाली राजनीतिको नेतृत्व गर्न छाडेनन् । भारतमा रहँदा उनले धेरै नेपाली कार्यकर्तालाई संगठित राखे ।

सन् १९७६ मा उनले नारा दिए, "राष्ट्रिय एकता र मेलमिलाप" । यस नाराले राजनीतिक समन्वय, संवाद र लोकतान्त्रिक सहिष्णुता स्थापना गर्ने प्रयास गर्‍यो ।
सन् १९७७ मा उनी स्वेच्छाले नेपाल फर्किए, जसका लागि तत्कालीन राजा वीरेन्द्रले अनुमति दिएका थिए । नेपाल फर्किएपछि पनि उनले निरन्तर पञ्चायती व्यवस्थाको विरोध गरे र बहुदलीय प्रणालीको वकालत गरे ।

साहित्यमा योगदान

बिपी कोइराला नेपाली साहित्यका एक उच्चकोटिका लेखक पनि थिए । उनी आधुनिक नेपाली साहित्यको संस्थापकमध्ये एक मानिन्छन् । उनका साहित्यिक कृतिहरूमा गहिरो सामाजिक यथार्थ, नारी चेतना, अस्तित्ववाद, मनोविश्लेषण, र राजनीतिक चेतना पाइन्छ ।

मुख्य कृतिहरू:

  • सुम्निमाकिराँत सभ्यताको पृष्ठभूमिमा आधारित सामाजिक चिन्तन
  • तीन घुम्तीजातीय विभेद र प्रेम
  • मोदी आइनग्रामीण महिलाको कथा
  • झुन्डवर्ग संघर्ष
  • बिपी कोइरालाका कथासमसामयिक नेपाली समाजको चित्रण

उनको लेखनशैली सरल, गहिरो र मनोवैज्ञानिक विश्लेषणमा आधारित हुन्छ ।

अन्तिम दिनहरू र निधन

बिपी कोइरालालाई क्यान्सर रोग थियो । उनले भारतमा उपचार गराइरहेका थिए । उनको निधन सन् १९८२ जुलाई २१ मा काठमाडौंमा भयो । उनको निधनले सम्पूर्ण नेपाली समाज शोकमा डुबेको थियो । उनले देखाएको सपना – लोकतन्त्र, मानव अधिकार र समाजवाद – आज पनि नेपाली जनताको प्रेरणाका स्रोत बनेका छन् ।

बिपी कोइरालाको योगदान र सन्देश

बिपी कोइराला केवल राजनीतिज्ञ थिएनन्, उनी राष्ट्रनिर्माता, विचारक, सुधारक र साहित्यकार थिए । उनका जीवनका मुख्य सन्देशहरु:

१. लोकतन्त्रको लागि त्याग गर्न तयार हुनुपर्छ

२. व्यक्तिको स्वतन्त्रता र मानवीय गरिमा सबैभन्दा महत्वपूर्ण छ

३. राजनीति केवल सत्ता प्राप्तिका लागि होइन, सेवा र परिवर्तनका लागि हो

४. साहित्य समाजको ऐना हो, यसले चेतना फैलाउँछ

निष्कर्ष

बिपी कोइरालाको जीवन संघर्ष, सिद्धान्त र सेवा– यी तीन आधारमा खडा भएको थियो । उनले देखाएको सपना अहिले पनि नेपालको राजनीतिको मूल आधार बनेको छ । उनले लोकतन्त्रका लागि दिएको बलिदानलाई कहिल्यै भुल्न सकिँदैन ।

उनको जीवनले हामीलाई विचार र संकल्प भए व्यक्तिले इतिहास बदल्न सक्छ भन्ने कुरा सिकाउछ । आजको युवाले बिपी कोइरालाको विचारबाट प्रेरणा लिएर देशको समुन्नत भविष्य निर्माण गर्न सक्छन् ।